कुनै वस्तु चम्कनको लागी त्यसले कि त कहीँबाट आइरहेको प्रकाश परावर्तन गर्नुपर्छ कि त आफैले प्रकाश उत्पादन गर्नुपर्छ । तर प्रकाश उत्पादन नगर्दा पनि चम्किने प्लास्टिकका 'तारा'हरू बजारमा पाइन्छन । तपाइले पनि आफ्नो कोठामा यस्ता 'तारा'हरू टाँस्नु भएको छ होला । यि ताराहरू कसरी चम्कन्छन त ?
अँध्यारोमा चम्किने यस्ता वस्तुहरूमा सामान्यत: फोस्फरस नामको रासायनिक पदार्थ राखिएको हुन्छ । यस्ता वस्तुहरूलाई चम्काउनका लागी पहिला प्रकाशमा राख्नुपर्छ । प्रकाशले ती वस्तुहरूमा रहेको फोस्फरसका इलेक्ट्रोनहरूलाई 'उत्तेजित' पार्दछ । इलेक्ट्रोन उत्तेजित हुनु भनेको आफु बसिरहेको कक्ष छोडी माथिल्लो कक्षमा पुग्नु हो । यसरी माथिल्लो कक्षमा पुगेका इलेक्ट्रोनहरू छोटो समयमै आफ्नै कक्षमा नै आफ्नै कक्षमा आइपुग्दछन । यस्तो गर्दा इलेक्ट्रोनहरूले निश्चित फ्रिक्वेन्सीको प्रकाश उत्पादन गर्छन । यसरी उत्पादन भएको प्रकाशको कारणले नै प्लास्टिकका 'ताराहरू' चम्किन्छन ।
वैज्ञानिकहरूले प्रयोगशालामा धेरै प्रकारका फोस्फोरसहरूको निर्माण गरिसकेका छन । तर अँध्यारोमा चम्किने यस्ता वस्तुहरूमा सामान्यत: जिङ्कसल्फाइड वा स्ट्रोन्टियम अल्युमिनेट राखिएका हुन्छन । र, जिङ्कसल्फाइडभन्दा स्ट्रोन्टियम अल्युमिनेट धेरै समयसम्म चम्किरहने हुन्छ ।
अँध्यारोमा चम्कने कुनै कुनै वस्तुहरूमा फोस्फोरसका साथसाथै रेडियमजस्ता रेडियोएक्टिभ तत्वहरू पनि राखिएका हुन्छन । रेडियोएक्टिभ तत्वहरूले थोरै मात्रामा विकिरणहरू उत्पादन गर्छन ( यति थोरै कि यसले मानिसलाई केही हानी गर्दैन ) । यस्ता विकिरणहरूले फोस्फोरसलाई त्यस्तै किसिमले 'चार्ज' गर्छन, जस्तो प्रकाशले गर्छ । त्यसैले रेडियोएक्टिभ तत्व राखिएका यस्ता वस्तुहरू अँध्यारोमा धेरै समयस्म चम्किरहन्छन । यस्ता तत्वहरू खासगरी घन्टौँसम्म चम्किरहनुपर्ने घडीका सुईहरूमा राखिएका हुन्छन ।
  • Followers

  • Total Pageviews

  • महत्तोपूर्ण सेतुहरु