एलर्जी के हो ?

Posted by Om Bhandari On 2:21 AM

सन् १९०६ मा बालरोग विशेषज्ञ Dr. Clemens Von Pirquet ले उनका बिरामीहरु धूलो धुँवा आदिका कारण मात्रले पनि क्षणिक रुपमा बिरामी भइ उपचारार्थ आउने गरेको कुरा थाहा पाए पछि उनले त्यस्ता रोगलाई एलर्जी भन्ने नामाकरण गरे । एलर्जी शब्द दुई वटा ग्रीक शब्दहरु 'Allois' र'Egron' लाई समेटिएर नामाकरण गरिएको थियो , जसको अर्थ " अन्य कार्य " भन्ने बुझिन्छ ।


सामान्यतया हावा हुरी चल्ने र गर्मी शुरु हुने मौसम अर्थात् बसन्त र गृष्म ऋतुहरुमा मानिसहरु एलर्जीबाट प्रभावित हुने गर्दछन् । हावामा तैरिरहने परागकण , धुलो , धुँवा , जनावरको रौं , कीराको टोकाइ , पेटमा पाइने जुका , चराको प्वाँख , खानेकुरा तथा औषधिको सेवनबाट एलर्जी हुन सक्छ । एलर्जी गराउने यस्ता वस्तुहरुलाई allergen भनिन्छ । अत्याधिक मानिसहरुलाई परागकणको सम्पर्क वा खानेकुराबाट एलर्जी हुने गरेको पाइएको छ । खानेकुरामा पाइने तेलीय पदार्थ तथा प्रोटीन एलर्जीका प्रमुख कारक तत्वहरु हुन् । बदाम , पेस्ता , ओखर , फुलको सेतो भाग , दूध , माछा , किवी , फल , केरा , मसलाहरु तथा खानेकुरामा मिसाइने रङ्गहरुबाट एलर्जी हुने मानिसहरुको संख्या अधिक पाइन्छ ।


Allergen हरु त्यस्ता वस्तुहरु हुन , जुन हाम्रो शरीरले मन नपराइएका हुन्छन् । यी वस्तुहरु सम्पर्कमा आएपछि , शरीरको प्रतिरोधात्मक प्रणालीले यस विरुद्ध लड्न र यसलाई निस्तेज तुल्याउन शरीरमा antibodies लाई तयार पार्दछ , जसलाई Immunoglobulin E (IgE) भनिन्छ । यी एलर्जीका कारक तत्वहरु हुन , जुन वास्तविक रुपमा हानिकारक हुँदैन , तथापि यसलाई दबाउन IgE ले शरीरका कोषहरुलाई अत्यधिक मात्रामा एलर्जीको औषधिको निम्ती प्रयोग गरिने एक पदार्थ (histamine) उत्सर्जन गर्न उत्प्रेरित गर्दछ । यस प्रतिक्रियालाई हामी शरीरले गरेको अनावश्यक कार्यको रुपमा पनि व्यक्त गर्न सक्दछौ । फलस्वरुप हाम्रो शरीरमा एलर्जीका लक्षणहरु देखा पर्न थाल्दछ । शरीरमा फोका फोका आउने , चिलाउने , नाकबाट पानी बग्ने , लगातार हाच्छिउ आउने , आँखा चिलाउने , आँखा रातो हुने , आँशु बगिरहने , दम बढ्ने आदि एलर्जीका लक्षणहरु हुन् । सामान्यतया एलर्जीले हानि पुराउँदैन भन्ने मान्यता रहेको पाइन्छ , तर कहिलेकाँही औषधिको सेवन तथा कीराको टोकाइबाट घातक एलर्जी हुन सक्दछ , जसलाई anaphylaxis भनिन्छ । Anaphylaxis ले गर्दा मानिसको मृत्यु पनि हुन सक्छ ।


एलर्जी हुने कारक तत्वहरु मानिसै पिच्छे फरक फरक हुन सक्छ , किनकी मानिसको शरीरमा पाइने क्ष्नभ् को त्यस्ता कारक तत्वहरु पहिचान गर्न सक्ने क्षमता फरक फरक हुन्छ । प्रत्येक क्ष्नभ् को त्यस्ता बििभचनभल सँग प्रतिक्रिया गर्न सक्ने गुण पनि फरक फरक हुन्छ । साथै , एलर्जी हुने/नहुने कुरा व्यक्तिको सहन सक्ने क्षमता र उमेरमा पनि निर्भर गर्दछ । औषधि विज्ञानले शरीरभित्र हुने एलर्जीका घटनाहरुलाई अझसम्म पनि पूर्ण रुपमा प्रष्टयाउन सकेको छैन , तर पनि एलर्जीको सम्भावना बढ्दो उमेरसँगै क्रमशः घट्दै जाने कुरा अध्ययनमा देखिएको छ ।


महिला भन्दा पुरुषमा एलर्जीको सम्भावना बढी हुन्छ । कम बिकसित मुलुक भन्दा विकसित मुलुकको मानिसहरुमा बढी एलर्जी हुने गरेका तथ्यांक पाइन्छ । त्यस्तै ग्रामीण भेगमा बस्ने मानिसहरु भन्दा शहरी क्षेत्रमा बसोबास गर्ने मानिसहरु बढी मात्रामा एलर्जीले संक्रमित भएको पाइन्छ । तसर्थ धुलो धुँवाको घनत्व र शरीरको प्रतिरोधात्मक क्षमताको आधारमा एलर्जी हुने/नहुने कुरा निर्देशित हुन सक्ने खतरा रहन्छ भन्ने मान्यताको विकास भएको पाइन्छ ।


एलर्जीको उपचारको लागि antihistamine औषधिहरुले शरीरमा histamineको उत्सर्जन कार्यलाई न्यून गरी एलर्जीका लक्षणहरु घटाउन मद्दत गर्दछन् । तर एलर्जीको उपचारको लागि संधै antihistamine औषधिहरुको सेवन गर्नु उपयुक्त मानिदैन किनकी यस्ता औषधिहरुले शरीरमा आलस्यता बढाउने , लठ्ठ पार्ने , निन्द्रा लगाउने , आँखा सुख्खा बनाउने जस्ता असरहरु देखाउने गर्छन र यस्ता औषधिहरु केही दिनदेखि वर्षौ वर्षसम्म पनि खाइरहनु पर्ने हुन सक्छ , जबसम्म शरीरले एलर्जीको कारक तत्वसँग छुटकारा पाउँदैन । तसर्थ के कारक तत्वबाट शरीरमा एलर्जी भइ राखेको छ , त्यसको पहिचान गरी , त्यसबाट टाढा रहनु नै यसको सबैभन्दा राम्रो उपचार हो । एलर्जी हुनु पूर्व र एलर्जी भइराखेको समयमा आफूले गरेको क्रियाकलापहरुलाई ख्याल गरी रेकर्ड राख्नाले एलर्जीको कारक तत्वको पहिचान गर्न मद्दत पुग्नेछ ।


विज्ञान र प्रविधिको विकाससँगै शरीरको रगत परीक्षण र छाला जाँचबाट एलर्जी नभएको कुरा पत्ता लगाउने प्रविधि पनि विकसित भइसकेको छ । रगतको नमूना संकलन गरी त्यसमा IgE को उपस्थिति र मात्रा मापन गरी एलर्जी नभएको जाँच गरिन्छ , जसलाई RAST (radioallergosorbent test) प्रविधि भनिन्छ । विभिन्न allergen हरु छालामा राखी , त्यस पछि छालाले कस्तो प्रतिक्रिया जनाउँदछ त्यसको अध्ययन गरेर पनि एलर्जीको कारकतत्वहरु थाहा पाउन सकिन्छ । तर सिमित allergen हरुसँग परीक्षण गरिने यस्ता उपायहरु संधै उपयोगी नहुन सक्छन् ।


यदि एलर्जीका कारकतत्वको पहिचान हुन सकेमा र त्यसबाट कहिल्यै टाढा रहन सक्ने अवस्था नभएमा , एलर्जीबाट छुटकारा पाउन Immunization पनि गर्न सकिन्छ । यस्तो Immunotherapy मा शरीरलाई निश्चित मात्राको allergen सँग सम्पर्क गराइन्छ ताकि त्यस्ता allergen सँग शरीर अत्याधिक परिचित होउन र अनावश्यक प्रतिक्रिया व्यक्त नगरुन । यस्तो allergyshot उपचार केही महिनादेखि लिएर सम्पूर्ण जीवनभरि पनि जारी रहन सक्छ ।


वास्तवमा एलर्जी कहिल्यै निको नहुने रोग हो । यो पटक पटक देखा परिनै रहन्छ । औषधिको सेवनले एलर्जीबाट राहत भने अवश्य पु ¥ याउँछ । एलर्जीको समस्याबाट छुटकारा पाउन , औषधिको सेवन गर्नुको साटो , हामी केही घरेलु उपायहरु अपनाउन सक्छौ जसले शरीरलाई हानी नपुराइ एलर्जी निको तुल्याउन मद्दत गर्न सक्छ ।


नून पानीको सफा घोलले नाकको नली सफा गर्नु एक उत्तम उपाय हुन सक्छ । यसबाट नाकमा टाँसिएको धुलो र परागकणहरु पखालिन्छ र नाकभित्रको म्यूकस झिल्लीलाई पातलो गराई antibacterial को रुपमा काम गर्दछ । भिटामिन सी पाइने अमिलो प्रजातिका फलफूलहरु खाँदा पनि मौसमी एलर्जी सन्चो पार्न प्रभावकारी हुन्छ । अंगुरको बियाँमा quercetin नामक फ्लोवोनाइड रसायन अत्यधिक मात्रामा पाइन्छ जसको सेवनले शरीरमा histamine को उत्सर्जन कम गराई एलर्जी निको पार्न मद्दत पु¥याउँदछ ।


Allergen को सम्पर्कबाट एलर्जी हुने हुँदा त्यसबाट टाढाँ रहन आफू सचेत भई विभिन्न तौर तरिकाहरु अपनाउनु पर्दछ । तल उल्लेखित केही बानी र व्यवहारहरुले एलर्जीबाट टाढा रहन मद्दत पु¥याउनेछ ।


१. यदि धुलो तथा परागकणसँग एलर्जी छ भने कोठाको झयाल ढोकाहरु सकेसम्म बन्द गरी राख्नु र पंखाको प्रयोग नगर्ने । चलिरहेको पंखाले धुलो तथा परागकणहरुलाई कोठामा फिंजाइ रहेको हुन्छ ।


२. धूलो जम्ने कार्पेटको सट्टा चिल्लो कार्पेट अथवा काठको भूँइ प्रयोग गर्ने ।


३. भूँइ सफा राख्ने , कुचो लगाउने र पुछ्ने ।


४. कोठाभित्र धु्रमपान नगर्ने ।


५. धेरै लामो झुण्डिने पर्दा प्रयोग नगर्ने प्वाँखहरुबाट बनाइएका सिरानी, सिरकहरु प्रयोग नगर्ने ।


६. बच्चाहरुलाई कपडाबाट बनाइएका खेलौनाहरु खेल्न नदिने ।


७. लुगा , ओछ्यान खोल , तन्ना पर्दा आदि समय समयमा तातो पानीले धुने ।


८. बेन्जाइल बेन्जोएट वा ट्यानिक एसिडको झोल समय समयमा कोठामा स्प्रे गर्ने ।


९. घरभित्र र कोठाहरुमा धेरै विरुवाहरु गमलाहरु जम्मा नगर्ने ।


१०. घरपालुवा जनावरहरुलाई समय समयमा नुहाइ दिने ।


११. परागकणबाट एलर्जी हुने मानिसहरु बिहानको समयमा घरभित्रै बस्नु राम्रो हुन्छ किनकी यस समयमा बाहिरको वातावरणमा परागकणको मात्रा बढी हुन्छ ।


१२. रुख बिरुवाहरु बढी भएको ठाउँमा , बिहान र साँझाको समयमा घुम्न कम गर्ने ।


१३. घर बाहिर निस्कदा मास्कको प्रयोग गर्ने ।


१४. बाहिरबाट घर फर्केपछि नुहाउने या लुगा फेर्ने ।


१५. एलर्जी हुने खालका खानेकुरा नखाने ।


१६. एलर्जी गराउने औषधिहरु थाहा पाइ राख्ने र त्यस्ता औषधिहरु कहिल्यै प्रयोग नगर्ने ।


१७. कस्मेटिक सामानहरु जस्तै मोइस्चराइजर , सेम्पु , मेकअपका सामानहरु , सुंगन्धित स्प्रेहरु आदिमा पाइने रसायनहरुले पनि एलर्जी गराउने हुँदा त्यस्ता सौन्दर्य सामग्रीहरु होशियारी पूर्वक प्रयोग गर्नु पर्दछ ।


-डा. गण बहादुर बज्राचार्य ( विज्ञानलेखमालाबाट)

1 comment:

तपाइको महत्वपुर्ण जिज्ञासा, प्रतिक्रिया, सुझाव , सल्लाहा आदी केही छ भने यहाँ लेख्नुहोस ।

  • Followers

  • Total Pageviews

  • महत्तोपूर्ण सेतुहरु