हालसम्मको विज्ञान इतिहासले दर्शाए अनुसार पृथ्वीमा जीव उत्पत्तिको एउटै सिद्धान्त रही आएको छ । सो कुरालाई जीव रसायनशास्त्रको महत्वपूर्ण सिद्धान्तले पुष्टि गर्दछ । जस अनुसार पृथ्वीमा उत्पत्ति भएका प्रत्येक जीवको बनोट ६ वटा प्रमुख रसायन तत्वले बनेको हुन्छ, ती हुन: कार्बन, हाइड्रोजन, अक्सिजन, नाइट्रोजन, सल्फर र फोस्फोरस । यस सिद्धान्तलाई Golden Rule of Bio-chemistry पनि भनिन्छ । तर हालै पत्ता लागेको आर्सेनिक रसायन उपयोग गर्ने व्याक्टेरियाले जीव उत्पत्तिको फरक धारलाई इंगित गर्दै पृथ्वी बाहेकका अन्य खगोलीय पिण्डमा जीव उत्पत्तिको बारेमा गहिरो ध्यानाकर्षण गरेको छ ।
साईन्स जर्नलको डिसेम्बर २०१० अंकमा प्रकाशित एक अध्ययन अनुसार संयुक्त राज्य अमेरिकाको उत्तरी क्यालीफोर्निया स्थित मोनो तालमा आर्सेनिक रसायन प्रयोग गर्ने व्याक्टेरिया पत्ता लागेको हो । उक्त अध्ययनको प्रमुख अध्ययनकर्ता Felisa Wolfe-Simon र उनका सुपरिवेक्षकहरु प्राध्यापक Davies र प्राध्यापक Anbar का अनुसार उक्त व्याक्टेरियाले प्रचलित जीव रसायनशास्त्रको सिद्धान्त विपरीत आफ्नो संरचना तथा उपयोगमा आर्सेनिक प्रयोग गरेको पाइयो । यस अनुसन्धानका अनुसन्धानकर्ताका अनुसार यो अनुसन्धानको मुख्य उद्देश्य जीवमा साधारणतया विषालु मानिने आर्सेनिकले फोसफोरसको ठाउँ लिन सक्छ कि सक्दैन भन्ने थियो । यस उद्देश्यलाई अगाडि बढाउन अनुसन्धानकर्मीहरुले आर्सेनिकको मात्रा बढी भएको मोनो तालमा अध्ययन गरेको थिए । उक्त व्याक्टेरियाले आफ्नो बासस्थानमा पाइएको आर्सेनिकलाई नै प्रमुख स्रोतको रुपमा प्रयोग गरेको पाइयो ।
यस तथ्यलाई पुष्टि गर्न अध्ययनकर्ताले उक्त व्याक्टेरियालाई प्रयोगशालामा क्रमिक रुपमा बढी आर्सेनिकको मात्रा दिई हुर्काएका थिए । परिणाम आश्र्चयचकित तुल्याउने थियो । व्याक्टेरियाले आफ्नो विकास क्रममा आर्सेनिकलाई शक्तिको रुपमा मात्र उपयोग नगरी डि.एन.ए. मा नै फोसफोरसलाई विस्थापन गरी आर्सेनिकलाई समेटेको पाइएको थियो । यस अघि पनि कतिपय व्याक्टेरियाले आर्सेनिकलाई शक्तिको रुपमा प्रयोग गरेको पाइएको छ तर आफ्नो शरीरको संरचनामा नै उपयोग गरेको पाइएको भने यो पहिलो हो । यो अनुसन्धानको परिणाम जीवन सम्बन्धी हाम्रो परम्परागत वैज्ञानिक धारणा भन्दा पृथक नयाँ रहस्योद्घाटन तर्फ उन्मुख रहेको छ । यद्यपि, अनुसन्धानको तत्कालिन परिस्थिति सम्म जीवनको उत्पत्तिको नयाँ बाटो भने खुट्याउने नसक्ने प्राध्यापक म्बखष्भक भन्नुहुन्छ र उक्त परिणाम व्याक्टेरियाको क्रमिक विकासको अनुकुलन (Evolutionary adaption) हुन सक्ने प्राध्यापक Davies विश्वास गर्नुहुन्छ । तर, अनुसन्धान आफ्नो पहिलो वर्षमा नै रहेको र नयाँ तथ्य फेला परेको कुरा सर्वसम्मत भएकोले, जीवनको दोस्रो शुरुवात सम्बन्धी धारणालाई नकारी हाल्नु पर्ने भने नभएको कुरा उहाँ अगाडि भन्नुहुन्छ । यस्तै गरी, यो खोज पृथ्वी बाहेकका खगोलिय पिण्डमा जीवनको सम्भावनालाई पनि डोर्याएको छ । शनि ग्रहको उपग्रह अर्थात् टाइटनमा प्रयाप्त रुपमा आर्सेनिक रहेको र उक्त ग्रहको तापक्रम आर्सेनिकको स्थायित्वको लागि उपयुक्त रहेकोले टाइटनमा आर्सेनिक प्रयुक्त जीवनको सम्भावना सम्बन्धी जिज्ञासा बढाएको छ र अन्ततः यस अनुसन्धानले के जीवन सृष्टीको फरक धार हुन सक्छ भन्ने प्रश्नमा थुप्रै चासो र चर्चा बटुलेको छ ।
- रविन्द्र पाण्डेय (विज्ञान लेखमालाबाट)
के जीव सृष्टिको फरक धार हुन सक्छ ?
नीमको उपयोगिता के छ ?
प्राकृतिक विविधताले भरिएको हाम्रो देश नेपालमा, विभिन्न विशेषता बोकेका रुख विरुवाहरु अर्थात् वनस्पति पाईन्छन् । नेपालमा थुप्रै प्रकारका जडीबुटी पाइने भएता पनि यसको पूर्ण उपभोग र यसबाट लाभान्वित हुन सकेको छैन । यसको प्रमुख कारण भनेको यसलाई उपयोगजन्य बनाएर प्रचार प्रसार नगरिनु देखिन्छ । बजारमा रासायनिक प्रविधिका निकै महंगो र मानव शरीरलाई दीर्घकालीन हानी पु¥याउने औषधीहरुले नै प्राथमिकता पाएको देखिन्छ । उता आफ्नै भूमिमा पाइने अनेकौं रोगहरु निको पार्ने जडीबुटी भने ओझेलमा परेका छन् , जसको प्रयोग गर्नाले शरीरमा कुनै अप्राकृतिक हानी नगरी आर्थिक भार समेत कम हुन्छ । नेपालमा यस्ता औषधीय गुण बोकेका थुप्रै जडीबुटी र वनस्पतिहरु पाइन्छन् । यस्तै गुण बोकेको वनस्पति मध्ये नीम पनि एक हो । यो नेपालको पहाडी र तराईका भू भागमा पाइने वनस्पति हो । अन्य रुख विरुवाहरुको तुलनामा वायुमण्डल तथा पर्यावरणलाई शुद्ध बनाइ राख्ने क्षमता नीममा लुकेको हुन्छ । यस बाहेक नीममा यति धेरै औषधीय गुणहरु हुन्छन् जसको पहिचान गरेर प्रयोगमा ल्याउन सके निकै फाइदा हुने प्रमाणहरु सिद्ध भएका छन् ।
मानिसको शरीरमा देखिने छालाको रोग, दाँतको रोग, घाउ खटिरा, तथा रक्त विकार जस्ता विभिन्न रोगहरुदेखि लिएर अन्न बालीमा लाग्ने रोगहरुको समेत नीमबाट छुटकारा पाउन सकिन्छ । नीम यस्तो वनस्पति हो, जसको पात, डाँठ, बोक्रा, जरा, फलफूल सबै अंगमा औषधीय गुणहरुले भरिपूर्ण हुन्छ । यिनै विविध गुणहरुले गर्दा यसलाई औषधीय वनस्पतिको नामले समेत चिनिन्छ । आयुर्वेदले नीमलाई प्रकृतिको अनुपम उपहार मानेको छ । अझ भनौं, यसको तुलना अरु कुनै साधारण वनस्पतिसँग हुन सक्तैन । यसको विशेषता भन्नु नै आफ्नो गुण र महत्वलाई कहिल्यै पनि कमी हुन नदिनु हो । प्राचीन कालदेखि नै मानिसहरुको घर आँगन र बारी÷कान्लामा यसले आफ्नो ठाउँ ओगेटेको देखिन्छ । नीम आयुर्वेदमा मात्र नभई आधुनिक चिकित्सा पद्धतिमा पनि उत्तिकै महत्वपूर्ण मानिन्छ । नेपालको ग्रामीण समुदायमा नीमको लोकप्रियता सँधै अग्रपंक्तिमा रहेको छ । यसको तेलमा मात्र कीटनाशक क्षमता नभएर पात तथा बोक्रामा पनि त्यतिनै गुणहरु विद्यमान रहेका छन् । अन्य बालीको भण्डार गर्दा नीमको पात मिसाएर भण्डार गर्नाले कीरा लाग्नबाट जोगाउन सकिन्छ ।
हाम्रो खेत बारीमा लगाएका बालीहरुमा पनि विभिन्न कीराहरु लागेर बालीनाली नष्ट गर्दछ । त्यस अवस्थामा नीमको पात तथा बोक्रा कुटी पानीमा मिसाइ उक्त कीटाणु लागेको बालीहरुमा छर्कनाले कीराहरु समेत हराउँदछ । घर, आँगन, कोठा आदिमा पनि भुसुना सुलसुले जस्ता कीराहरु छन् भने नीमको बोक्रा र पात बालेर त्यसको धुँवा र खरानी प्रयोग गर्नाले कीराहरु हराउँदछन् । शरीरको कुनै अंगमा लुतो, घाउ, खटिरा निस्केमा नीमको बोक्रालाई मसिनो हुने गरी कुटेर लेदो बनाई नियमित ४-४ दिन उक्त घाउ खटिरामा लगाउनाले छिट्टै निको हुन्छ । नीम भरपर्दो एण्टिसेप्टिक समेत भएकोले शरीरको कुनै अंग काटिएमा यसको पातलाई पिसेर लगाउँदा अन्य संक्रमण हुनबाट जोगाउन सकिन्छ । नीमको स्वाद तीतो हुन्छ, त्यसैले यसको पात, डाँठलाई पिसेर रस बनाई नियमित सेवन गरे मधुमेहका रोगीहरुका अतिरिक्त विकारलाई समेत नष्ट गरी रगत सफा बनाउन मद्दत गर्दछ । दाँत हल्लने, गिजा सुन्निने र दाँत माझ्दा रगत आउने रोग छ भने दैनिक नीमको डाँठ प्रयोग गरी दाँत माँझनाले उक्त रोगहरुबाट बँच्न सकिन्छ । शरीरमा स-साना डावर वा एलर्जी भएको बेला यसको पातको खरानी वा रस लगाएमा निकै आराम हुन्छ । यही निमलाई आधुनिक चिकित्सा र परिवार नियोजनका लागि पनि प्रयोगमा ल्याउने प्रयास भइरहेको बताइन्छ । छातीको ब्रोङक्राइटिस, घाँटीमा निस्कने खटिरा, नाक भित्र घाउ निस्केमा नीमको डाँठको बोक्रा निकालेर मुख बन्द गरी निकै समय लगाएर चपाउने गरे उक्त समस्याहरु हटेर जान्छन् । नीममा भएका यिनै अनेकौं गुणहरुले गर्दा यसको महत्वलाई बुझी यसको उचित संरक्षण र प्रयोग गर्नु पर्ने देखिन्छ । जसको सम्बद्र्धनबाट हाम्रो विग्रदो पर्यावरणलाई समेत राहत पुग्ने देखिन्छ ।