मह बनाउने मौरी एक घण्टामा औसत रूपमा 13 देखि 15 माइलसम्म उडन सक्छ ।
एक औन्स मह उत्पादन गर्नको लागि एउटा मौरीले औसत रूपमा 1600 चक्कर यात्रा
गर्ने गर्छ । त्यसले एक चक्कर काट्नको लागि करीब 6 माइलको यात्रा गर्ने
गर्छ । यस हिसबले हेर्ने हो भने एउटा मौरीले 2 पौण्ड मह उत्पादन गर्नको
लागि पृथ्वीलाई चार पटक चक्कर लगाउन लाग्ने बराबरको दूरी यात्रा गर्ने
गर्छ ।
एक पौण्ड मह उत्पादन गर्नको लागि मौरीहरुको समूहले 20 लाखवटा फूलहरूको
चक्कर काटेको हुन्छ ।
मौरीको एउटा घारमा 40-45 हजार मौरीहरू हुन्छन ।
मानिसको लागि खानेकुरा उत्पादन गरिदिने एउटै मात्र कीरा मह उत्पादन गर्ने
मौरी हुन ।
एक पौण्ड मैन उत्पादन गर्नको लागि मौरीले 8 पौण्ड मह खाएको हुन्छ ।
मौरीको घारको औसत तापक्रम 93.5 डिग्री हुने गर्दछ ।
रानी मौरीले एक दिनमा करीब 2 हजार वटा अण्डाहरु पार्ने गर्छे ।

भिटामिन (Vitamins)

Posted by Om Bhandari On 7:01 AM
भिटामिन हाम्रो लागी कुनै नौलो नाम होइन । आज हामी धेरै थोरै मात्रामा
भिटामिनको प्रयोग दिनहु गरिरहन्छौ । तर हामीलाई यसको इतिहास थाहा नहुन
सक्छ । आउनुहोस्, भिटामिन संवद्ध केही जानकारी थाहा पाऔ ।
भिटामिनको इतिहास सन् 1720 देखि सुरू भएको पाइन्छ । तत्कालिन समयमा
अष्ट्रियाली सैनिक चिकित्सक क्रमेर (Kramer) ले स्कर्भी (Scurvy) रोगका
लागि सुन्तला तथा हरिया सागसब्जीका माध्यमबाट उपचार गराएको पाइन्छ ।
त्यसपछि ब्रिटिस नौसेनाका क्याप्टेन लिन्ड (Lind) ले प्रयोगबाट यो
प्रमाणित गरिदिएका थिए कि कागती तथा सुन्तलाको पर्याप्त मात्रामा सेवन
गराएमा स्कर्भीबाट मुक्ती पाउन सकिन्छ । यो सन् 1753 तिरको घटना हो ।
त्यस पछि यस विषयमा उल्लेख्य प्रगति हुन पुग्यो । पछि सन् 1890 मा डा.
आइजकम्यान (Dr. Eijkman) ले कुखुराका चल्लाहरूलाई मिलमा कुटाएको चामल
खुवाएर अनुसन्धान कार्य प्रारम्भ गरेका थिए । यसो गर्दा कुखुराका
चल्लाहरूमा बेरीबेरी रोगमा जस्तै स्नायुप्रणालीको क्रियामा असन्तुलन आएको
पत्ता लगाए । त्यसपछि त्यो रोगलाई निको पार्ने दिशातिर कदम चाले । पछि
डा.आइजकम्यानका एक सहयोगी मित्रले एउटा कुखुराको चल्लालाई केही समयसम्म
ढिकीमा कुटेको चामल खुवाएर पाले जुन चल्लाको अवस्थामा विस्तारै विस्तारै
सुधार आएको पाए ।
सन् 1911 मा पोल्याण्डका डा. क्यासिमिर फुन्क (Dr. Casimir Funk) त्यति
बेला लन्डनको लिस्टर इन्सिच्युटमा कार्यरत थिए र उनले बेरीबेरीविरूद्धको
तत्व पत्ता लगाए । उनका अनुसार यस पदार्थको रासायनिक संरचना एक एमिन
(Amine) थियो । त्यस कारण यसको नाम उनले भिटा-एमिन (Vita-Amine) राखे ।
भिटा एक ल्याटिन शब्द हो जसको अर्थ जीवनका लागी अवश्यक पदार्थ हुन्छ ।
ह्युमन फिजिकोलजीमा भिटामिनको परिभाषा यसप्रकार दिइएको छ :- "यो
प्रभावशाली जैविक यौगिक हो जुन सबै खद्य तथा पेय पदार्थमा अत्यन्त कम
अर्थात सूक्ष्म मात्रामा रहन्छ । यो प्रणीहरूको जीवनका लागि अवश्यक
विशिष्ट शारिरिक क्रियाबाट सामान्य रुपमा अपूर्ति हुन्छ । यसका लागि
व्यक्तीको शरीरमा भिटामिनको बाह्य स्रोतबाट आपूर्ति हुन आवश्यक हुन्छ । -
(Chatterjee, Human Physiology, p. 451) ।"यसरी भिटामिन यौगिकको विकास
क्रम अझैसम्म जारी रहेको छ । हाल भिटामिनका विभिन्न प्रकारहरू पत्ता
लागिसकेको छ । जस्तै कि सन् 1915 मा म्यककोलम तथा डेभिसले अण्डाको पहेलो
भागमा भिटामिन ए पत्ता लगाएका थिए । त्यस्तै 1918 मा मेलेन्बिले माछाको
तेलमा भिटामिन डी हुने कुरा पत्ता लगाए । सन् 1922 को ताका वरिपरि इभान्स
तथा बिसप नामका वैज्ञानिकहरूले भिटामिन ई पत्ता लगाई यसको नाम
टोकोफेरोल्स (Tocopherols) राखेका थिए । जहा टोकोसको अर्थ बच्चाको जन्म र
फेरोको अर्थ जन्म दिनु हुन्छ । यस्तै जर्मन रसायनशास्त्री डाम (Dam) ले
भिटामिन के को खोज गरेका थिए । यसले रगत जमाउने याने Cogulation को काम
गर्दछ । जर्मन भाषामा कोगुलेसन शब्द K अक्षर बाट सुरू हुनेभएकाले उनले
यसको नाम भिटामिन के राखेका थिए । यस्तैनै सन् 1928 मा ग्योर्गीले
भिटामिन सि स्वतन्त्र रूपमा प्राप्त गरे पछि सन् 1933 मा रिचस्टेइनले
प्रयोगशालामा बनाउन सफल भए । यसलाई एस्कोर्बिक एसिड (Ascorbic Acid) पनि
भनिन्छ । भिटामिनको खोजक्रम अझै जारी रहेको छ ।
कन्ट्याक्ट लेन्स एक बाक्लो प्रकारको पारदर्शी प्लास्टिकको कप हो । यो
0.06 मिलि मिटरदेखि 0.15 मिलि मिटरसम्म बाक्लो हुन्छ । यसको डायमिटर 5.5
मि.मि. देखि 15 मि.मि. सम्मको हुन्छ जुन आँखाको सिधै कर्निया (Cornea) को
माथि राखिन्छ । कन्ट्याक्ट लेन्सको प्रयोग गर्नुको प्रथम उद्देश्य
चस्माको प्रयोग विना वस्तुलाई स्पष्ट तथा स्वाभाविक तरिकाले देख्न सकियोस
भन्ने हो । खासगरी आँखामा हुने दुरदृष्टि तथा अदुरदृष्टिका समस्या
हटाउनकालागी चस्माको प्रयोग गरिन्छ । कन्ट्याक्ट लेन्स जलविन्दु जस्ता
कतिपय आँखाको बिरामीका लागि त यो थेरापीको रूपमा पनि प्रयोग गरिन्छ ।
त्यस्तै खेलकुद, नृत्य, र चलचित्र क्षेत्रमा सम्बद्ध मानिसहरूले लेन्सलाई
चस्माको सजिलो वैकल्पिक साधनका रूपमा लिएका छन । यस प्रकारको लेन्सको
प्रयोगले एथलेटहरुको प्रस्तुति राम्रो भएको प्रमाणित भइ सकेको छ । यसका
अतिरिक्त कन्ट्याक्ट लेन्सको प्रयोग सौन्दर्य बढाउन पनि गरिन्छ । विभिन्न
प्रकारका लेन्स प्रयोग गरि आँखाको रुपनै परिवर्तन गर्न सकिन्छ । यसमा
भएको पछिल्लो विकासले टाढाको वस्तु देख्न नसकिने आँखाको कमजोरीलाई विशेष
प्रकारको कन्ट्याक्ट लेन्सको प्रयोगले कम गर्न सकिने भएको छ ।
अर्थोकार्टोलोजी नामक यो प्रविधि तुलनात्मक रुपमा महँगो भएता पनि यसको
प्रयोगबाट आशातित सुविधा पाउन सकिन्छ । आउदो वर्षहरुमा कन्ट्यक्ट लेन्समा
भारि परिवर्तन आउने वैज्ञानिकहरुको नितन्तरको प्रयाशले देखाउदछ ।
हाम्रो ब्रम्हाण्ड अत्यन्तै विशाल छ , जहाँ विभिन्न ग्रह , उपग्रह , तारा आदि छन् । राति सफा आकाशमा देखिने प्रकाशपिण्ड नै ताराहरू हुन । हामीबाट धेरै टाढा भएकाले साना देखिए तापनि वास्तवमा तिनीहरू विशाल छन । ताराहरूको शक्ति वा उर्जाको मुख्य स्रोत न्युक्लियर फ्युजन हो , जुन निरन्तर चलिरहन्छ । नाभिकीय प्रतिक्रिया चलिरहँदा विस्तारै इन्धन समाप्त हुदैँ जान्छ र तारा प्रकाशहीन (अदिप्त) हुन्छन । ताराहरूमा नाभिकीय प्रतिक्रिया चलिरहेदाँ उत्पन्न हुने तापशक्ति आन्तरिक गुरूत्वशक्तिभन्दा बढी हुन्छ , तसर्थ ताराको आकार गुरुत्व प्रभावले संकुचन हुन पाउँदैन । नाभिकीय स्रोतको अन्तयसँगै तापशक्तिको मात्रा घट्दा गुरूत्वशक्तिको प्रभाव बढ्छ र ताराको आकार तीव्र रूपमा संकुचन हुन थाल्दछ । जसका कारणले परमाणुहरू एक अर्काको नजिक-नजिक हुदैँ जान्छन । यस्तो अवस्थामा पुगेको ताराको पिण्ड सूर्यको पिण्ड भन्दा 1 देखि 4 गुणा कम भएमा ताराका परमाणुहरू एकअर्काको अत्यन्तै नजिकमा आइपुग्छन । परमाणुहरूको वरिपरि परिक्रमा गर्ने इलेक्ट्रोनहरू आफ्नो कक्षबाट उछिट्टिएर बाहिर जान्छन । यसरी उछिट्टिएका इलेक्ट्रोनहरूको चापले गुरूत्व प्रभावबाट भइरहेको संकुचनलाई सन्तुलन गर्दा ताराहरूमा एक प्रकारको स्थायित्व कायम हुन्छ । यस अवस्थामा पुगेको तारालाई ह्वाइट ड्वार्फ (White Dwarf) भनिन्छ । संकुचित ताराको पिण्ड सूर्यको पिण्ड भन्दा 1 देखि 4 गुणा बढी भएमा तारामा रहस्यात्मक विष्फोट हुन्छ । विष्फोटपश्चात मुख्य ताराको पिण्ड सूर्यको पिण्ड भन्दा 3 गुणाभन्दा कम भए पनि पहिलेको जस्तो गुरूत्व प्रभावलाई इलेक्ट्रोनको चापले रोक्न सक्दैन । यिनीहरूका परमाणु झन झन नजिकिंदा आन्तरिक चापमा बृद्धि भई इलेक्ट्रोन र प्रोटोन संयोजित हुन्छन र न्युट्रोनको सृष्टि हुन्छ । यसरी करिब 30 प्रतिशत भाग न्युट्रोनमा परिणत भएपछि गुरुत्वको संकुचन प्रभावलाई सन्तुलन गर्न सक्ने न्युक्लियर शक्ति उत्पन्न हुन्छ र संकुचन प्रक्रिया रोकिन्छ । यस प्रकारको तारालाई न्युट्रोन तारा (Neutron star) भनिन्छ । विष्फोटपश्चात अवशेष रहेको मुख्य भागको पिण्ड सूर्यको पिण्डको 3 गुणाभन्दा बढी भएमा गुरुत्व प्रभावबाट भएको संकुचनलाई अन्य कुनै शक्तिले रोक्न सक्दैन र तारामा निरन्तर संकुचन भइरहन्छ । विस्तारै ताराको आकार सानो हुँदै जाँदा यसको घनत्व बढ्दै जान्छ र गुरुत्वक्षेत्रको तीब्रता पनि बढ्दै जान्छ । यसरी ताराहरू आफ्नै पिण्डको गुरुत्व प्रभावले गर्दा खुम्चदै गर्छ । अन्त्यमा अति नै सुक्ष्म विन्दुमा समाहित भएर कृष्ण छिद्र (Black Hole) को निर्माण हुन्छ । सूर्यकोभन्दा 3 गुणा ठूलो पिण्ड सूक्ष्म विन्दुमा परिणत हुँदा त्यसको घनत्व कल्पना गर्नै नसकिने हुन्छ । उक्त सूक्ष्म विन्दुलाई विलक्षताको विन्दु (Point of Singularity) भनिन्छ ।

जूनकिरी कसरी बल्छ ?

Posted by Om Bhandari On 9:16 PM
सामान्यत: गर्मी मौसममा मात्र पाइने जूनकिरीको पछाडि पिलपिल गरि बल्ने
बत्ती विभिन्न रसायनहरूको समीश्रणका कारण बल्छ । यी रसायनहरूमा अक्सिजन,
ल्युसिफेरिन नामक पिग्मेन्ट, ल्युसिफेरेज नामक इन्जाइम र कोषमा शक्ति
प्रदान गर्ने तत्व एडिनोसिन ट्राइफोस्फेट पर्छन । बत्ती बाल्नको लागि
प्रयोग गरिने कोषहरूमा रहेका युरिक एसिडका क्रिस्टलहरूले प्रकाशलाई
परावर्तन गरेर बत्तीलाई अझ चम्किलो पार्छन् ।
यद्यपि जूनकिरीको बत्ती पिलपिल गर्नुको कारणमा भने जूनकिरीको स्नायु
कोषहरूले गर्छन कि अक्सिजनको प्रवाहले गर्छ भन्ने कुरामा वेज्ञानिकहरू
द्विविधामा छन । तर, करिब 2 हजार प्रजातिहरू रहेका यि जुनकिरीहरूको बत्ति
पिलपिल गर्नुका धेरै प्रायोजन भने थाहा लागेको छ । जूनकिरीहरू विपरित
लिङ्गीलाई आकर्षित गर्न पिलपिल बत्ति बाल्छन । विभिन्न प्रजातिका
जूनकिरीहरू छुट्टाछुट्टै शैलीमा पिलपिल गर्दछन । यसले जूनकिरीहरूलाई
आफ्नै प्रजातिको अर्को जूनकिरी थाहा पाउन सजिलो हुन्छ । यिनीहरू यो
पिलपिल गर्ने बत्तिलाई सुचना अदानप्रदान गर्न पनि प्रयोग गर्दछन ।
जूनकिरीबाहेक अरू थुप्रै प्राणीहरूले पनि बत्ती बाल्छन । यस्तो बत्ती
बाल्ने प्राणीको गुणलाई वैज्ञानिक भाषामा बायोल्युमिनेसेन्स भनिन्छ ।
वैज्ञानिकहरूको धारणा के छ भने समुन्द्रको गहिरो भागमा बस्ने 90 प्रतिशत
प्राणीहरूमा बायोल्युमिनेसेन्स गुण हुन्छ ।
धेरैलाई पानी परेपछि आउने बास्ना मीठो लाग्छ । यस्तो वास्नालाई वसन्त
रितुसँग जोडिएर व्यख्या गरिन्छ । तर, धेरैलाई मीठो लाग्ने यस्तो वास्ना
पानी परिसकेपछि किन आउँछ त ?
पानी परेपछि आउने वास्नाका कारण धेरै हुन सक्छन । त्यस्तै प्रकारको मीठो
बास्ना हामी जंगलमा पनि पाउँछौँ । वास्तवमा यस्तो मीठो वास्ना
व्याक्टेरियाको कारण आउँछ । एन्टिनोमाइसिटिज नामक व्यक्टेरिया ओसिलो र
न्यानो जमिनमा चाँडै विकास र फैलने हुन्छ । जब जमिन सुक्छ, त्यसपछि ती
व्यक्टेरियाहरूले स्पोर्सहरुको उत्पादन गर्छ । यो स्पोर्सहरू हावामा
फैलिन्छन् र ओसिलो हावामा रहेका पानीका कणहरूसँग मिसिएपछि मीठो बास्ना
निस्कन्छ । व्याक्टेरियाहरू पृथ्वीको हरेक कुनामा हुन्छन् । त्यसैले
व्यक्टेरियाहरूको कारणले आउने यो बास्नाबाट सबै परिचित हुन्छन् ।
पानी परेपछि निस्कने बास्नाहरूमध्यको एक अर्को बास्ना पानीमा हुने अम्लको
कारण आउँछ । हावामा हुने विभिन्न रासायनिक तत्वहरूका कारण विशेषगरी शहरी
क्षेत्रहरूमा पानीमा अम्लको मात्रा केही बढी हुन्छ । अम्ल मिसिएको यस्तो
पानीले जमिनमा रहेका रासायनिक तत्वहरूसँग प्रतिक्रिया गर्छ, जसको कारणले
बास्ना उत्पादन हुन्छ । तर, यस्तो तरिकाबाट निस्कने बास्ना खासै मीठो
हुदैन । त्यसैले पनि पानी पर्दा जहिले पनि मीठो बास्ना निस्कदैन ।
विरुवा तथा रूखहरूले उत्पादन गर्ने भोलाटाइल (चाँडै वाफ भई उडेर जान
सक्ने) तेलहरूको कारण पनि पानी पर्दा बास्ना आउँछ । यस्ता भोलाटाइल
तेलहरू चट्टानहरूको सतहमा जम्मा भएर बस्छन् । वर्षाको पानीले यस्ता
तेलहरूसित रासायनिक प्रतिक्रिया गर्छ र त्यसपछि ग्याँसको रूपमा हावामा
छरिइन्छन् । यो प्रकारको बास्ना पनि मीठो हुन्छ । यो बास्नालाई त बटलमा
कैद गरेर सेन्टहरू बनाउन पनि प्रयोग गरिन्छ ।
वर्षापछिको बास्नाका अरू थुप्रै सूक्ष्म कारणहरू हुन्छन । त्यसैले कसैसँग
यस्ता बास्नाहरूको बारेमा विवाद गर्दै हुनुहुन्छ भने याद गर्नुहोस्
तपाइहरू दुवै सही बोलिरहनुभएको हुनसक्छ ।

खोपले कसरी काम र्गछ ?

Posted by Om Bhandari On 12:23 PM
शिशु जन्मेको पाँच वर्ष नपुग्दै विभिन्न थरिथरिका खोपहरु लगाइन्छ । पोलियो थोपा, हेपाटाइटिसको खोप, दादुराको खोप, आदि खोपहरु लगाइँदा शिशुमा पछि यी रोगहरु देखा नपर्ने बताइन्छ । तर, यस्ता खोपहरुले कसरी काम गर्छ त ? हामीहरुमध्ये धेरैले के सोच्छौ भने रोगहरु लाग्दा दिइने औषधिहरुजस्तै खोप पनि कुनै प्रकारको औषधि नै होला । तर, खासमा खोप भनेको रोग लगाउने भाइरस वा ब्याक्टेरियाहरु नै हो । उदाहरणको लागि दादुराको खोपमा दादुरा लगाउने किटाणुहरु नै हुन्छन । तर, यी किटाणुहरुलाई शिथिल बनाइएका हुन्छन । त्यसैले यी किटाणुहरुसँग रोग लगाउने क्षमता भने हुँदैन । त्यसैले खोप दिनु भनेको शरीरको प्रतिरोधात्मक प्रणालीलाई तयार पार्नु हो । शिशु अवस्थामा नै खोपबाट दिइने यस्ता किटाणुहरु शरीरमा प्रवेश गरेको खण्डमा शरीरले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ र भविश्यमा पनि यस्ता किटाणुहरु शरीरभित्र पसे केही कठिनाइबिना प्रतिरोध गर्छ । जब शरीरमा शिथिल बनाइएका किटाणुहरु प्रवेश गराइन्छ, शरीरमा रहेका बि–सेलहरु ( एक प्रकारको सेतो रक्तकोष) क्रियाशील हुन्छन । बि–सेलहरु क्रियाशील हुँदा शरीरमा एन्टिबडीहरुले रोग लगाउने ब्याक्टेरिया वा भाइरसहरु विरुद्ध प्रतिरोध गर्छ । त्यसैले धेरै प्रकारका खोपहरु एकपटक दिइसकेपछि त्यसले जीवनभरिको लागि काम गर्छ । तर कुनैकुनै खोपहरुले जीवनभरिको लागि काम गर्दैन । उदाहरणको लागि टिटानसको खोपले खास समयसीमाको लागि मात्र काम गर्छ । यस्तो अवस्थामा यस्ता खोपहरु निश्चित समय अन्तरालमा दिइनुपर्ने हुन्छ । मानिस जन्मँदा उसँग निश्चित रोगहरुसँग मात्र लड्ने प्रतिरोधात्मक क्षमता हुन्छ । यो प्रतिरोधात्मक क्षमताको कारक उसको शरीरमा आमामार्फत प्राप्त हुने एन्टिबडीहरु हुन । तर, यी एन्टिबडीहरुले शिशुलाई एक वर्षसम्म मात्र सुरक्षा दिन सक्छन । त्यस्तै, अन्य धेरै रोगहरुविरुद्ध प्रतिरोध गर्ने एन्टिबडीहरु शिशुमा आमामार्फत प्राप्त हुदैनन् । त्यसैले भविश्यमा लाग्न सक्ने रोगहरु विरुद्ध लड्न शरीरको रोग प्रतिरोधात्मक प्रणालीलाई तयार राख्नको लागि शिशुलाई खोप दिइन्छ ।
प्राय: सबैलाई लाग्दो हो, 'धुलोको खासै महत्वपूर्ण काम छैन । धुलो नभइदिए
त दिनदिनै घर सफा गर्नु पर्दैनथ्यो । सबै कुराहरू सफा सुग्घर हुने थिए
साथै मानिसलाई विभिन्न श्वासप्रश्वासका रोगहरू लाग्ने थिएन ।' तर, धुलो
नहुँदो हो त त्यो भन्दा पनि बढी समस्या पर्ने थियो । यदी धुलो नभएमा पानी
धेरै पर्ने थिएन, सूर्यास्त हामीले देख्ने गरेको जस्तो सुन्दर हुने थिएन

पानी पर्नुमा वायुमण्डलमा हुने धुलोका कणहरूको धेरै ठूलो योगदान हुन्छ ।
धुलोका कणहरूले वायुमण्डलमा वाफका रूपमा रहेका पानीका अणुहरूलाई सोस्ने
गर्छ । यसरी पानीका अणुहरू धुलोका कणहरूमा जम्मा हुदैँ जाँदा, विस्तारै
त्यो गह्रौँ हुन्छ । र, अन्त्यमा निकै गह्रौँ भएपछि पानीका ति अणुहरू
वर्षाको रुपमा जमिनमा झर्छ ।
त्यस्तै सूर्योदय तथा सूर्यास्त सुन्दर देखिनमा पनि धुलोको महत्वपूर्ण
भूमिका छ । सूर्योदय र सूर्यास्तको समयमा, जब सूर्य क्षितिजभन्दा तल
हुन्छ, पानीका कणहरू मिसिएका धुलाका कर्णहरूले लामो वेभलेन्थ (तरङ्ग
लम्बाइ) भएको रातो प्रकाशलाई परावर्तन गरी वायुमण्डलमा फिजाइदिन्छ, जसका
कारण आकाश रातो देखिन्छ । वायुमण्डलमा जति धेरै धुलाका कणहरू हुन्छन,
सूर्योदय र सूर्यास्त त्यति धेरै सुन्दर देखिन्छ ।
धेरैलाई थाहा छ बिरालो जातका जनावरहरू, चाहे त्यो सानो होस वा ठूलो, सबैले घुर्र-घुर्र आवाज निकाल्ने गर्दछन । कुनैकुनै चिडियाखानामा चितुवाजस्ता ठूला बिरालाहरूले पनि यस्तो आवाज निकाल्ने गरेको पाइएको छ । बिरालोको घुर्र-घुर्र आवाज भोकल कर्डको कम्पनको कारणले पैदा हुन्छ र यो स्वचालित कार्य (Voluntary Action) भित्र पर्दछ । यस्तो आवाज निस्कँदा भ्वाइस बक्सका मांसपेशीहरूले भल्बको रूपमा काम गर्छन, जसको कारणले भोकल कर्डको दुवै दिशा भएर जाने हावामा कम्पन पैदा भएर आवाज पैदा हुन्छ । सुरूमा बिरालोहरू खुसी भएको बेला र सन्तुष्ट महसुस गरेका बेलामा घुर्र-घुर्र आवाज निकाल्छन भन्ने विश्वास गरिन्थ्यो । यो कुरा पनि सत्य हो, तर बिरालो खुसी नभएका क्षणहरूमा पनि यस्तो आवाज निकाल्ने गर्दछ । बिरालोले निकाल्ने यो आवाजको फ्रिक्वेन्सी 25-130 हर्जसम्मको हुन्छ । वैज्ञानिकहरुका अनुसार यो फ्रिक्वेन्सी भनेको हाड र मांसपेशीहरूमा हुने दुखाइ कम गर्ने फ्रिक्वेन्सी हो । यसले के देखाउँछ भने बिरालोले आफ्नो हाड तथा मांसपेशीमा हुने दुखाइको उपचारको लागि यस्तो आवाज निकालेको हुन सक्छ । यो सिद्धान्तलाई कुन कुराले पनि बल पुराउँछ भने बिरालो प्रजातिका जनावरहरूको हाड भाँचिएमा अरू जनावरहरूमा भन्दा चाँडै निको हुन्छ ।
हामी मध्ये कयौँ गन्हाउने समस्याले हैरान भएका हुन्छौं । कहीँ जुत्ता फुकालेर कोठामा जानु परेमा अप्ठेरो हुन्छ । जिउ जति नै बास्ना आउने भएपनि खुट्टा त यति गन्हाउने हुन्छ कि त्यस व्यक्तिको अगाडि बस्नै नसकिने हुन्छ । हाम्रो खुट्टा गन्हाउनुको मुख्य कारण के हो त ? हाम्रो खुट्टा गन्हाउनुको प्रमुख कारण पसिना हो । प्रत्येकमा २ लाख ५० हजारभन्दा बढी पसिना ग्रन्थि हुने हाम्रा खुट्टाहरू शरीरमा सबैभन्दा बढी पसिना आउने ठाउँहरुमध्ये पर्छन् । एक दिनमा हाम्रो एउटा खुट्टाले करिब ४५० मिलि लिटर पसिना निकाल्छ । पसिना भनेको प्रमुख रुपमा पानी र नुनको मिश्रण मात्र हो । त्यसैले पसिना आफैँ भने गन्हाउने हुँदैन । पसिना गन्हाउने मुख्य कारण त हाम्रो छालामा हुने ब्याक्टेरियाहरु हो । ब्याक्टेरियाले हाम्रो छालामा उत्पादन हुने पसिना खान्छ । र, पसिना खाइसकेपछि ब्याक्टेरियाले दिशाको रुपमा निकाल्ने तत्त्व नै पसिना गन्हाउनुको प्रमुख कारण हो । पक्कै पनि हाम्रो शरीरको सबै भागमा पसिना आउँछ । हाम्रो हातहरूमा पनि प्रशस्त पसिना ग्रन्थीहरु हुन्छन् । तर, खुट्टाजस्तै शरीरका अन्य भागहरु त्यति गन्हाउँदैनन् । के फरक छ त खुट्टा र शरीरका अन्य भागहरुमा ? यसको उत्तर हो मोजा र जुत्ता । जुत्ता र मोजाका कारण खुट्टाबाट निस्कने पसिना हातहरू र शरीरका अन्य भागमा निस्कने पसिना जस्तो सजिलै बाहिरी हावासँग सम्पर्कमा आउन सक्दैन । यो खुट्टा र मोजामै टाँसिएर बस्छ । ब्याक्टेरिया अँध्यारो, ओसिलो र चिसो ठाउँमा चाँडै फैलिने हुँदा खुट्टातर्फ आकर्षित हुन्छ । कसैकसैको खुट्टा अरुको भन्दा धेरै गन्हाउनुको कारण चाहिँ उनिहरुको खुट्टामा धेरै पसिना आउनु नै हो । र, तपाईँले याद गर्नुभएको होला, धेरै हिँडियो भने पनि खुट्टा धेरै गन्हाउँछ; कारण उही हो : धेरै हिँड्दा धेरै पसिना आउनु ।

विकिरण भनेको के हो ?

Posted by Om Bhandari On 10:39 AM
किरणलाई देखिने प्रकाशको मसिनो अङ्शको रूपमा बुझिन्छ । देखिने प्रकाशमा पनि थुप्रै अन्य किरणहरू मिसिएका हुन्छन । त्यसमा आँखाले ठम्याउन सकिने सात रङ्गका किरणहरू हुन्छन भन्ने तथ्य वैज्ञानिक न्युटनले पत्ता लगाएका हुन, जुन इन्द्रधनुषमा हामी सबैले पनि देख्छौँ । तर, किरणहरू सबै देखिने मात्र हुँदैनन्, नदेखिने किरणहरूलाई विकिरण भनिन्छ । वास्तवमा किरण आफै पनि एक विकिरण हो | किनकी, वैज्ञनिकहरुले निरन्तर प्रवाह भइरहने गतिशील ऊर्जालाई नै विकिरणको संज्ञा दिएका छन् | त्यस प्रवाहमा तरङ्ग र अतिसूक्ष्म कण दुवै गुण रहेका हुन्छन | प्रकाश पनि यसैभित्र पर्दछ | वास्तवमा प्रकाशको किरण भनेको फोटोन नामक अतिसुक्ष्म कणहरुको निरन्तर प्रवाह हो, जसको पिण्ड नै हुदैन | फोटोन ऊर्जाको गतिमा मात्र अस्तित्वमा रहन्छ | स्थिरतामा फोटोनको अस्तित्व रहदैन र गतिशील ऊर्जाको पिण्डलाई ठम्याउन सकिदैन | तसर्थ, विकिरण कि अतिसुक्ष्म कणहरुको तीव्र प्रवाह हो, जसले ऊर्जाको गुण ग्रहण गर्छ कि त तरंगको प्रवाह हो, जो आफै ऊर्जा हो | विकिरणको किसिम विकिरण दुई किसिमका हुन्छन - गैर आयोनिक (Nonionizing) र आयोनिक (Ionizing) | आयोनिकीकरण भन्नाले परमाणुमा ऋणात्मक विद्युतआवेशीत कण इलेक्ट्रोनको संख्या बढ्ने वा घट्ने हुनु हो | सामान्य अवस्थामा परमाणु बिद्युतआवेशित हुदैन | किनकी ऋणात्मक र धनात्मक आवेश बोक्ने इलेक्ट्रोन र प्रोटोनको संख्या बराबर हुन्छ | तर, जब इलेक्ट्रोनको संख्यामा घटबढ हुन्छ तब परमाणु आवेशित हुन्छ | परमाणुमा इलेक्ट्रोनको संख्या बढ्यो भने ऋणात्मक र घट्यो भने धनात्मक बिद्युतआवेशित प्राप्त हुन्छ | बिद्युतआवेशित परमाणु नै आयोन हो र यो प्रक्रिया आयोनिकीकरण हो | गैर आयोनिक विकिरणले वस्तुहरु (जीवित वा निर्जीव) मा कुनै प्रभाव पार्दैन । तर, आयोनिक विकिरणले वस्तुहरुभित्रका परमाणु भित्रका इलेक्ट्रोनहरुलाई विस्तापित गर्ने क्षमता बोकेको हुन्छ । हाम्रो शरीरभित्र त्यस्तो विकिरणको प्रवेश हुँदा त्यसले कोष भित्रका तत्वहरुका परमाणुहरुमा रहेका इलेक्ट्रोनहरुलाई विस्थापित गरी त्यहाँ ठूलो हलचल पैदा गरिदिन्छ । र, यसबाट तन्तुहको नियमित कामहरुमा अवरोध पुग्दछ । यही कारणले क्यान्सरलगायत बिभिन्न घातक रोगहरु उत्पन्न हुने सम्भावनाको सिर्जना हुन्छ । सूर्य, चन्द्रमा, बत्ती वा कुनै पनि प्रकाशको स्रोतबाट उत्पन्न हुने देखिने प्रकाशका किरणहरु गैर आयोनिक विकिरण हो । यिनीहरु मानवस्वास्थ्यमा हानीकारक हुँदैनन् । तर, सूर्यबाटै निस्कने एक्स–रे, इन्फारेडरेलगायत थुप्रै प्रकारका आयोनिक विकिरणहरु मानव स्वास्थ्यको दृष्टिमा घातक हुन्छन् । एक्स–रे त अस्पतालहरुमा शरीरभित्रको फोटो खिच्न पनि प्रयोग गरिन्छ । त्यसैले अनावश्यक रुपमा धेरैपटक शरीरको एक्स–रे लिन नहुने सल्लाह डाक्टरहरु दिन्छन । आणविक भट्टिहरुमा युरानियम र प्लुटोनियमका परमाणुहरूलाई टुक्राएर नाभिकीय ऊर्जा उत्पादन गरिन्छ । यो प्रक्रियामा ठूलो मात्रामा अल्फा, बिटा, गामा र न्युट्रोन विकिरणहरु उत्सर्जन हुने गर्दछ । तर, ती विकिरणहरु बाहिरी वातावरणमा फैलिन नदिन त्यहाँ विशेष आवरणको व्यवस्था मिलाइएको हुन्छ । ती सबै विकिरणहरु आयोनिक विकिरणहरु हुन । तिनीहरू शरीरभित्र प्रवेश हुँदा घातक रोग लाग्ने सम्भावना हुन्छ । कणहरु प्रभाविहित हुने विकिरणले भेटेका ठोस वा तरल पदार्थहरु स्वयं पनि विकिरणकृत भएका हुन्छन । अर्थात ती पदार्थहरुमा विकिरणका कणहरु (विद्युतआवेशित कणहरु) मिसिएका हुन्छन, जुन चीज हाम्रो शरीरभित्र प्रवेश गर्दा त्यसले तन्तुहरुलाई बिगार्ने गर्दछ । विशेषतः तरङ्गको रुपमा नै प्रवाहित विकिरणहरु हावाको माध्यामबाट हाम्रो शरीरभित्र प्रवेश गर्दा त्यसले असर गर्ने गर्दछ । विकिरणहरु प्रकृतिबाट पनि ठूलो मात्रामा हाम्रो शरीरमा प्रवेश गरिरहेका हुन्छन, जस्तो अन्तरिक्षबाट आउने ब्रम्हाण्डीय विकिरण(Comic Ray), ढुङ्गा र माटोबाट आउने राडन विकिरण, एक्स रे, परावैजनी किरण, इन्फ्रारेड रे आदि । तर, हाम्रो शरीरले निश्चित मात्रासम्मको विकिरणलाई थेग्न मात्र सक्ने क्षमता बोकेको हुन्छ ।
हाम्रो शरीरका लागि शक्ति खानाहरूको अक्सिडेसनबाट प्राप्त हुन्छ । यस प्रक्रियाले खानालाई ग्लुकोज र पानीमा परिणत गरिदिन्छ । यसलाई एक ठाउँबाट अर्को ठाउँमा लैजानको लागि साइटोक्रोम अक्सिडेज नामक इन्जाइमले मद्दत पुऱ्‍याएको हुन्छ । विषसेवनबाट यी इन्जाइमलाई निस्क्रिय तुल्याइदिन्छ र यिनीहरू काम गर्न असक्षम हुन्छन । फलस्वरुप शरीरमा विभिन्न प्रक्रिया सञ्चालन हुन सक्दैनन् र मानिसको मृत्यु हुन्छ ।
समन्वित विश्व समयका आधारमा निर्धारण गरिएको समयलाई बेलाबेलामा सौर्य समयसँग मिलान गर्न आवश्यक हुन्छ । यसरी मिलान गरिने सेकेण्ड नै लिप सेकेण्ड हो । पोजेटिभ लिप सेकेण्ड भएको खण्डमा १ सेकेण्ड थपिन्छ भने नेगेटिभ भएको खण्डमा १ सेकेण्ड घटाइन्छ ।
इन्टरनेशनल अर्थ रोटेशन एण्ड रेफरेन्स सिस्टम सर्भिसले लिप सेकेण्डको घोषणा गर्छ । सामान्यतया प्रत्यक १८ महिनामा लिप सेकेण्डको समायोजन गरिन्छ । तर पृथ्वीको गतिको कारण यति नै पटक लिप सेकेण्ड थपिन्छ वा घटाइन्छ भन्ने हुदँन ।
सन १९७२ जुनदेखि जनावरी १ सम्म २३ पटक लिप समायोजनका लागि निर्देश गरिएको थियो तर सन १९९१ बाट सन २००५ डिसेम्बरसम्म १ पटक पनि समायोजन गर्न निर्देशन दिइएको थिएन ।
अणुबमको विष्फोटनपछि निस्कने विषालु ग्याँस तथा धुलोका कणहरू ले पृथ्वीको वायुमण्डललाई ढाक्दछ र सूर्यको प्रकाशलाई पृथ्वीमा आउनबाट रोक्दछ । यसरी सूर्यको प्रकाश नआउँदा पृथ्वीको जलवायु हिउँदको जस्तै ठण्डा हुन पुग्दछ, फलत: सम्पूर्ण जीवजन्तु र वनस्पतिमा नराम्रो असर पर्दछ । यसरी आणविक होडवाजीपूर्ण विष्फोटन कार्यको फलस्वरुप सिर्जना हुने यस्तो कृत्रीम जलवायुलाई आणविक हिउँद भनिन्छ ।

सर्पले सुन्न सक्दैन । यसले आफ्नो शरीरले जमिनको कम्पन मापन गरेर आफूवरिपरिको स्थितिको जानकारी राख्दछ । तर, त्यसभन्दा पनि भरपर्दो औजार हो, यसको जिब्रो । सानो छँदा हामीमध्य धेरैको धारणा के हुन्थ्यो भने बीचमा काटिएको सर्पको अनौठो जिब्रोले नै हामीलाई टोक्छ । तर, यो धारणा बिल्कुल गलत हो । सर्पको काटिएको जिब्रो हाम्रो लागि हानिकारक हुन्न । यसले त आफ्नो यो अनौठो जिब्रो परिस्थिति आँकलन गर्न प्रयोग गर्छ ।
सर्पको तालुमा दुई ससाना अङ्गहरू हुन्छन । ती अङ्गहरूलाई 'जेकब्सन्स ओर्गन' भनिन्छ । सर्पले आफूवरिपरिको वस्तुस्थितिको जानकारी लिन जिब्रो तीव्र गतिमा भित्रबाहिर गरिरहेको हुन्छ । प्रत्यक पटक सर्पले आफ्नो जिब्रो बाहिर निकाल्दा हावामा रहेका रासायनिक कणहरू गिलो जिब्रोमा टाँसिन्छन । आफ्नो जिब्रो मुखभित्र छिराउँदा यसरी टाँसिएका कणहरूलाई सर्पले जेकब्सन ओर्गनमा राख्छ । जेकब्सन ओर्गनले यी कणहरूको पहिचान गरि शिकार नजिक छ वा छैन, कति टाढा छ, हावाको तापक्रम कति छ भन्ने जस्ता कुराहरू निर्क्यौल गर्छ । जेकब्सन ओर्गनले जिब्रोका दुवै चुच्चोहरूमा शिकारको गन्धका कणहरू प्राप्त नगर्दासम्म सर्पले शिकारको पिछा गरिरहन्छ । जब जिब्रोको एउटा मात्र चुच्चोमा शिकारको गन्ध पाउँछ तब सोहि दिशातिर सर्प लाग्दछ । जब दुवै चुच्चाहरूबाट शिकारको गन्ध हराउँछ, तब सर्पले आफ्नो टाउको यताउता हल्लाएर फेरि गन्धका कणहरू खोजी गर्छ ।
सामान्य सापेक्षताको सिद्धान्त जर्मन भौतिकशास्त्री अल्बर्ट आइन्सटाइन (Albert Einstein) ले सन् १९१५ मा प्रतिपादन गरेका हुन । यो सिद्धान्त विशेष सापेक्षताको सिद्धान्तको जगमा अडिएको छ । यस सिद्धान्तले मुख्यरूपमा गुरूत्वकर्षणको नियम र प्रकृतिका अन्य बलहरूसंगको यसका सम्बन्धहरूको व्याख्या गर्छ । यस सिद्धान्तलाई निम्नलिखित मुख्य पाँच कुराहरूमा केन्द्रित गर्नसकिन्छ :

(क) अन्तरिक्ष तथा अन्तरिक्ष-समय पहिले विश्वास गरिएझै चेप्टो नभई यो घुमाउरो (Curved or Warped) छ ।
(ख) न्युटनले भनेजस्तै ग्रहहरू गुरूत्वाकर्षणको कारणले घुमाउरो कक्ष (Orbit) मा रही घुमिरहेको नभई घुमाउरो अन्तरिक्षमा सबभन्दा छोटो सोझो बाटोलाई पछ्याउदै जाँदा सूर्यलाई घुम्न पुगेका हुन् ।
(ग) अन्तरिक्षमा कुनै पनि पिण्डले जहिले पनि चौआयामिक अन्तरिक्ष-समय (Four Dimensional Space-Time) मा सोझो बाटो नै पछ्याएको हुन्छ ।
(घ) सूर्य जस्तो ठूलो पिण्डको गुरूत्वाकर्षणको क्षेत्रमा प्रकाश बाङ्गिन पुग्छ । यो कुरालाई सन् १९१९ को खग्रास सूर्यग्रहणको समयमा सूर्य नजिक देखिएका ताराहरुको अवलोकनबाट बेलायती वैज्ञानिकहरुले पुष्टि गरेका छन ।
(ङ) कम गतिमा रहँदाभन्दा बढी गतिमा रहँदा समय ढिलो चल्छ । अर्थात्, दर्शकको गतिअनुसार समय ढिलो वा चाँडो चल्ने हुन्छ ।
१. शुरुवातदेखी १४ दिनसम्म - Ovum (अण्ड)
२. १५ दिनदेखी १२/१४ हप्तासम्म - Embryo
३. १२ हप्तदेखी नजन्मिदासम्म - Fetus (भ्रुण)
४. जन्मेदेखी १ महिनासम्म - Newbron (नवजात शिशु)
५. १ महिना देखी १ वर्षसम्म - Infant (शिशु)
६. १ वर्षदेखी ३ वर्षसम्म - Toddler
७. ३ वर्षदेखी ६ वर्षसम्म - Preschoot (Early Childhood)
८. ६ वर्षदेखी ११ वर्षसम्म - Schoolgoing (Middle Childhood)
९. ११ वर्षदेखी १४ वर्षसम्म - Prepubescent (Late Childhood)
१०. १४ वर्षदेखी १६ वर्षसम्म - Pubesent age
११. १६ वर्षदेखी २० वर्षसम्म - Post pubescent age
१२. २० वर्षदेखी ४० वर्षसम्म - Youth (युवक)
१३. ४० वर्षदेखी ६० वर्षसम्म - Post youth (प्रौढ)
१४. ६० वर्ष माथी - Old बृद्ध
तपाइ हामीलाई थाहा छ कि विरूवाहरूको लागि पातमा खाना बनाउन नभइनहुने ग्याँस कार्बनडाइअक्साइड हो । कार्बनडाइअक्साइड भन्नाले कार्बन र अक्सिजन तत्वको रासायनिक संयोजनबाट बन्ने वस्तु हो । त्यसैले वनस्पतिको प्रत्यक कोषमा कार्बन तत्वको कण विद्यमान रहेको हुन्छ । प्रत्यक्ष या अप्रत्यक्ष ढंगले जनावरले बनस्पतिहरूको भोजन गर्ने भएकोले जनावरको प्रत्यक कोषमा पनि कार्बन कण रहेको हुन्छ । अर्थात कुनै पनि जीवभित्र वायुमण्डलमा रहेको कार्बन कण भोजनबाट संकलित भएको हुन्छ । जीवमा कार्बन कण संकलित हुने प्रक्रिया जन्म देखि शुरू हुन्छ भने मृत्यु पछि यो बन्द हुन्छ ।
अर्को कुरा, कार्बन परमाणु दुई प्रकारका छन : साधारण कार्बन र रेडियो कार्बन । रेडियो कार्बन भन्नाले रेडियो विकिरण निकाल्ने कार्बन तत्व बुझिन्छ । रेडियो कार्वन साधारण कार्बनको आइसोटप (Isotope) हो । आइसोटप भन्नाले एउटै तत्वको फरक न्यूट्रोन संख्या भएको परमाणु भन्ने बुझिन्छ । जस्तो कि साधारण कार्बनको परमाणुको नाभिक (Nucleus) मा ६ वटा मात्र न्यूट्रोनहरू हुन्छन । यसको आइसोटप ( रेडियो कार्बन)मा ८ वटा न्यूट्रोनहरू रहेका हुन्छन । त्यसैले साधारण कार्बन परमाणुको भार (प्रोटोन र न्यूट्रोनको जोड) १२ रहेको छ भने रेडियो कार्बनको भार १४ (प्रोटोन ६ + न्यूट्रोन ८) रहेको छ । साधारण कर्बनलाई C12 लेखिन्छ भने रेडियो कार्बनलाई C14 लेखिन्छ ।
वायुमण्डलमा रेडियो कार्बनको मात्रा साह्रै थोरै रहेको छ । वैज्ञानिकहरूका अनुमानमा, साधारण कार्बन परमाणुको संख्या १० अरब हुन्छ भने रेडियो कार्बनको परमाणुको संख्या एक मात्र रहेको हुन्छ । तै पनि पृथ्वीको वायुमण्डलमा सधैँ करिब १०० टन रेडियो कार्बन रहेको हुन्छ ।
वायुमण्डलमा साधारण कार्बन र अक्सिजन मिलेर कार्वनडाइअक्साइड बने जस्तै रेडियो कार्बन र अक्सिजन मिलेर रेडियो सक्रिय कार्वनडाइअक्साइड बनेको हुन्छ । विरूवाले प्रकाश संश्लेषण क्रिया गर्दा वायुमण्डलबाट साधारण कार्वनडाइअक्साइडका साथसाथै रेडियो सक्रिय कार्वनडाइअक्साइड पनि प्राप्त गरेको हुन्छ ।
रेडियो कार्वन परमाणु त्यस्तो परमाणु हो, जसले लगातार रेडियो विकिरण छर्नुका साथै समयको गतिसंग त्यो स्वयं पनि नष्ट वा विघटन हुदैँ गइरहेको हुन्छ । जीवित वस्तुमा रेडियो कार्वन जम्मा हुने र त्यो विघटन हुने प्रक्रिया एकैसाथ भइरहेको हुन्छ । तर जब जीवित वस्तुको मृत्यु हुन्छ, तब त्यसमा रेडियो कार्वनको विघटन मात्र हुन्छ ।
रेडियो कार्वनको आधी मात्रा विघटन हुन जम्मा ५७०० वर्ष लाग्छ । यसलाई रेडियो कार्वनको अर्धायु भनिन्छ । फेरि बाँकी रहेको रेडियो कार्वनको आधी मात्रा सकिन अको अर्धायु (५७०० वर्ष) लाग्छ । फेरि त्यसको पनि आधा विघटन हुन अर्को अधायु लाग्छ । अर्थात सुरूको ५०% विघटन हुन ५७०० वर्ष, ७५% सकिन २*५७०० वर्ष, ८७.५% सकिन ३*५७०० वर्ष लाग्छ ।
रेडियो कार्वनको विघटन हुने यो खास प्रक्रियाको आधारमा नै वैज्ञानिकहरूले जीवावशेषहरुको आयुको अनुमान गर्छन । जस्तो कुनै जीवावशेषमा रेडियो कार्वनको आधा मात्र विघटन भए त्यो ५७०० वर्ष पुरानो हुन्छ । त्यस्तै ७५ प्रतिशत रेडियो कार्वनको विघटन भए त्यो जीवावशेषको आयु ११४००(२*५७००) वर्ष पुरानो हो भनेर भन्न सकिने भयो ।
रेडियो कार्वन परमाणुको विघटनको स्थिति हेरी जीवावशेषको आयु पत्ता लगाउने यो प्रविधिको आविस्कार अमेरिकाको शिकागो विश्वविद्यालयका वैज्ञानिक डा. विलियम बिलार्ड फ्रब लिब्बीले सन १९४० मा गरेका थिए ।
हामीले कुनै कुनै फिल्ममा एउटै अनुहार भएका दुई व्यक्तीले अभिनय गरेको देख्नपाउदछौ । चलचित्रमा दुइजनाको रुपमा देखाइएतापनि वास्तविकरुपमा अभिनय एकजनालेनै गरेको हुन्छ । यसरी चलचित्रहरुमा एउटै मानिसको दोहोरो भूमिका कसरी देखाइन्छ जानौ ।

डबल पार्ट फिल्म खिच्दा क्यामेरा संचालकले क्यामेराको लेन्सलाई आधा छोपिदिएको हुन्छ । यस्तो गरिदा रिलको आधा एकातिर मात्रै दृश्य भरिन्छ । त्यसपछि अर्को दृश्यमा फिल्म खिच्न रिललाई उल्टोतिर घुमाइन्छ जसलाई रिवर्स गरिनु भनिन्छ । र लेन्सको अर्को आधा भाग छोपि फिल्म खिचिन्छ । यसरी खिचिएको दृश्यहरु कम्प्युटरको सहताले मिलाई हेरिनयोग्य एउटै मानिसको दोहोरो भूमिका भएको चलचित्रको निमार्ण गरिन्छ ।
रेडियो कार्बन भन्नाले रेडियो विकिरण निकाल्ने कार्बन तत्व बुझिन्छ । रेडियो कार्वन साधारण कार्बनको आइसोटप (Isotope) हो । आइसोटप भन्नाले एउटै तत्वको फरक न्यूट्रोन संख्या भएको परमाणु भन्ने बुझिन्छ । जस्तो कि साधारण कार्बनको परमाणुको नाभिक (Nucleus) मा ६ वटा मात्र न्यूट्रोनहरू हुन्छन । यसको आइसोटप ( रेडियो कार्बन)मा ८ वटा न्यूट्रोनहरू रहेका हुन्छन । त्यसैले साधारण कार्बन परमाणुको भार (प्रोटोन र न्यूट्रोनको जोड) १२ रहेको छ भने रेडियो कार्बनको भार १४ (प्रोटोन ६ + न्यूट्रोन ८) रहेको छ । साधारण कर्बनलाई C12 लेखिन्छ भने रेडियो कार्बनलाई C14 लेखिन्छ ।
वैज्ञानिकहरुका अनुसार अन्तरिक्षका टाढा टाढाका ठाँउहरूबाट पृथ्वीमा लगातार शक्तिशाली अन्तरिक्ष किरण (cosmic ray) हरू वर्षिरहेका छन् । ती किरणहरू सबै दिशाबाट पृथ्वीमा वर्षिरहेका छन । अन्तरिक्ष किरण पृथ्वीमा वर्षिदा वायुमण्डलसंग ठोक्किन पुग्छ र त्यहाँ अत्यन्त शक्तिशाली ऊर्जाको निर्माण हुन्छ । यो ऊर्जालाई प्राथमिक अन्तरिक्ष किरण भनिन्छ ।
अन्तरिक्ष किरण जब वायुमण्डलसंग ठोक्किन पुग्छ तब यस किरणमा रहेको तिव्र गतिमानको न्युट्रोनलाई वायुमण्डलमा रहेका केही नाइट्रोजन परमाणुले अत्यधिक तेज गतिमा अवशेषित (आफु संग मिलाउने काम ) गर्छन । न्युट्रोनको अवशेषबाट नाइट्रोजन परमाणुभित्रको एक प्रोटोन उछिट्टिएर बाहिर निस्कन्छ । एउटा प्रोटोन गुमाउने र एउटा न्युट्रोन प्राप्त गर्ने गर्दा पहिलेको नाइट्रोजन परमाणु अब ८ वटा न्युट्रोन भएको कार्बन परमाणुको आइसोटपमा परिणत हुन्छ । किनकि परमाणुभित्रको प्रोटोन संख्याले नै कुन तत्व हो भन्ने कुरो निर्धारण हुन्छ ।
नाइट्रोजन परमाणुमा ७ वटा प्रोटोन हुन्छ । जब यसले एउटा प्रोटोन गुमाउछ तब यो ६ वटा प्रोटोन भएको कार्बन तत्वमा बदलिन्छ । साधारण कार्बनको नाभिकमा ६ वटा प्रोटोन र ६ वटा न्युट्रोन हुन्छ । तर अन्तरिक्ष किरणको कारणले नाइट्रोजन परमाणु कार्बन परमाणुमा बदलिदा यसमा ६ वटा प्रोटोन र ८ वटा न्युट्रोन रहन गएको हुन्छ । त्यसैले यो कार्बनको आइसोटप हो । र यसले लगातार रेडियो विकिरण छर्ने भएकाले यसलाई रेडियो कार्बन भनियो ।
वायुमण्डलमा रेडियो कार्बनको मात्रा साह्रै थोरै रहेको छ । वैज्ञानिकहरूका अनुमानमा, साधारण कार्बन परमाणुको संख्या १० अरब हुन्छ भने रेडियो कार्बनको परमाणुको संख्या एक मात्र रहेको हुन्छ । तै पनि पृथ्वीको वायुमण्डलमा सधैँ करिब १०० टन रेडियो कार्बन रहेको हुन्छ ।
हामीलाई थाहा छ कि लाफिङ्ग ग्यास अलिकती सुँघेमा मात्र पनि हामि मरिमरी हास्न पुग्दछौ । यस्तो ग्यास उत्तेजित भिड साम्य पार्न र नियन्त्रण गर्न प्रयोग गरिन्छ । तथा अन्य विविध प्रयोजनका लागी पनि लाफिङ्ग ग्यासको प्रयोग गरिन्छ । वास्तवमा लाफिङ्ग ग्यास नाइट्रस अक्साइड हो । नाइट्रस अक्साइड(N2O) नाइट्रोजन(N) र अक्सिजन(O) को प्रतिक्रियाबाट बनेको हुन्छ । यो रङ्गविहीन कम क्रियाशिल र पनीमा सजिलैसंग घुल्न सक्ने ग्यास हो । हसाउने ग्यासले प्रख्यात नाइट्रस अक्साइड धेरै मात्रामा सुँघेमा हामि अचेत अवस्थामा पुग्न सक्छौ । तर केहि मात्रामा सुँघेको खण्डमा मष्तिष्कको सुक्ष्मकोषहरुलाई उत्तेजित पार्दछ फलस्वरुप शरीरमा हलुका खालको उत्तेजना पैदा हुन्छ जुन मानिसले हासेको जस्तो हुन्छ याने भित्र जस्तो भएतापनि मान्छे जबरजस्त हास्न पुग्दछ ।

हाइड्रोजन बम के हो ?

Posted by Om Bhandari On 1:57 AM

सन् १९४५ मा अमेरिकाले जापानको दुइ ठूला शहरहरु हिरोसिमा र नागासाकिमा शक्तिशाली बम खसालेको थियो जसले तत्काल लाखौ मानवको ज्यान लिएको थियो साथै उक्त बम यति सम्म शक्तिशाली थियोकि दशकौ यता आएर आज सम्म पनि त्यहा विभिन्न घातक विकिरणहरु पैदा भइरहेका छन् । उक्त खसालिएको बम थियो - अणु बम (Atom Bomb) । तर यस बम भन्दा पनि २५ हजार गुणा शक्तिशाली बम वैज्ञानिकहरुले निमार्ण गर्न सफल भएका छन जुन बम मानव जातिले निमार्ण गरेको एक मात्र शक्तिशाली अत्याधुनिक हतियार हो । जसलाइ हाइड्रोजन बमका नामले चिनिन्छ ।


हाइड्रोजन बममा अत्याधिक उर्जा निर्माण गर्न फ्युजन प्रकृया अपनाइन्छ । यसमा ट्रिटियम वा ड्युटेरियमजस्ता हाइड्रोजनका आइसोटोपहरु (एकै तत्व तर फरक पिण्ड भएका परमाणुहरु) बिभिन्न अवस्थाहरुका कारण एकै ठाउमा फ्युजन हुन्छ ( गाभिन्छ ) । यसरी फ्युजन भएका दुइ परमाणुहरुको पिण्डको जोडभन्दा गाभिइसकेपछि उत्पादन हुने तत्वको पिण्ड थौरै हुन्छ याने यस प्रक्रियामा केहि पिण्ड नाश हुन पुग्दछन । यसरी हराएको अथवा नाश भएको पिण्ड भोतिकशास्त्रि अल्बर्ट आइन्स्टाइनको समिकरण E=mc^2 अनुशार अत्याधिक उर्जामा परिणत हुन्छ ।


हाइड्रोजन बमले ऊर्जा उत्सर्जन गर्न दुइ चरणहरु पार गर्नु पर्ने हुन्छ । पहिलो, युरेनियम जस्ता अस्थिर परमाणुहरुलाई फिसन प्रक्रियाबाट टुक्राएर अत्याधिक उर्जा उत्पादन गर्नु र दोस्रो, यसरि उत्पादित ऊर्जालाई प्रयोग गरी हाइड्रोजनको आइसोटोपहरु फ्युजन गराइ प्रचुर उर्जा उत्पादन गरिन्छ ।

कार्टुन चलचित्र बालबालिकामा एकदमै लोकप्रिय छ | मिकी माउस, डोनाल्ड डक, टिनटिन, पपया आदि कार्टुन चरित्रहरु विश्वमै प्रख्यात रहेका छन | यस्ता कार्टुन चलचित्रहरु कसरी बन्छन त ? यस्तो जिज्ञासा सबैमा जाग्न सक्छ |


Mickey-Mouse.pngसामान्य चलचित्र कलाकारहरूको हाउभाउलाई क्यामेराको मद्दतले छायाङ्कन गरेर निर्माण गरिन्छ । तर कार्टुन चलचित्रहरूमा भने कलाकारको सट्टा चित्रहरूको प्रयोग गरिन्छ । सुन्दा अचम्म लाग्नसक्छ एक सेकेन्डको कार्टुन चलचित्रमा विभिन्न २४ वटा चित्रहरू प्रयोग भएका हुन्छन । ती विभिन्न चित्रहरुलाई एक एक गरी एउटा विशेष प्रकारको क्यामेराले खिचिन्छ । त्यसरी खिचिएका सबै चित्रहरूलाई जोडेर एकै पटकमा देखाउँदा चित्रहरू चलेको भ्रम पैदा हुन्छ ।


यस्ता चलचित्र बनाउँदा चित्रहरूलाई एउटा विशेष प्रकारको टेबल वा स्ट्यान्डमा राखिन्छ । यसलाई एनिमेशन स्ट्याण्ड (Animation Stand) भनिन्छ । त्यो स्ट्याण्डको ठीकमाथि क्यामेरा राखेर त्यसको फोटो खिच्ने काम गरिन्छ । एउटा चित्रका विभिन्न भागहरू भिन्न भिन्न पारदर्शी कागजमा बनाइन्छ । त्यसै कारण कलाकारले त्यो पात्रको हरेक पटक पुरै चित्र बनाउनु आवश्यक पर्दैन । खालि फरक फरक चालहरूको मात्र चित्र बनाइन्छ । goofy.jpg


त्यसरी चित्र तयार भएपनि फोटो खिच्ने बेलामा त्यस पात्रका फरक फरक भागहरूलाई मुख्य चित्र माथि राखिन्छ । यसरी चित्र मिलाएर राख्दा एउटा पूर्ण चित्र बन्छ । पछि पालैपालो ती चित्रहरूलाई क्यामेराले खिचिन्छ र त्यसलाई मिलाएर एउटा सिँगो चलचित्र बनाईन्छ ।


अहिले कम्य्युटरमा भएको विकासले कार्टुन चलचित्र बनाउन झनै सजिलो भएको छ । यस प्रविधिमा चित्रहरूलाई क्यामेराले खिचेर मिलाउनु पर्दैन । त्यसको सट्टा चित्रलाई निर्माण गरिने गरिन्छ । अझ 3D Animation का कतिपय सफ्टवेरहरूको प्रयोग गरेर सोझै कम्य्युटरमा नै कार्टुन पात्रको चित्र तयार गर्न सकिन्छ । अनि त्यसरी तयार पारेको पात्रलाई कम्य्युटर सफ्टवेयरको मद्दतले चलायमान गराएर चलचित्र बनाइन्छ । यसमा पनि प्रतिसेकेण्ड २४ देखि ३० वटासम्म चित्रहरू प्रयोग गरिन्छ । यसरी कम्प्युटरबाट निर्माण गरिने कार्टुन चलचित्रहरू त साँच्चिकै जस्ता देखिन्छन ।


कार्टुन चलचित्रले मनोरञ्जन मात्र हैन, शिक्षा पनि दिन सक्छ । बच्चाहरूले धेरै नै मन पराउने भएकोले विश्वमा कार्टुन चलचित्रको प्रयोग मनोरञ्जनका लागि मात्र नभएर कुनै सन्देश प्रशारण गर्नको लागि पनि हुने गर्छ ।


( Free Download Animation tool , 3D Animation Software Download , Make carton )

कुनै वस्तु चम्कनको लागी त्यसले कि त कहीँबाट आइरहेको प्रकाश परावर्तन गर्नुपर्छ कि त आफैले प्रकाश उत्पादन गर्नुपर्छ । तर प्रकाश उत्पादन नगर्दा पनि चम्किने प्लास्टिकका 'तारा'हरू बजारमा पाइन्छन । तपाइले पनि आफ्नो कोठामा यस्ता 'तारा'हरू टाँस्नु भएको छ होला । यि ताराहरू कसरी चम्कन्छन त ?
अँध्यारोमा चम्किने यस्ता वस्तुहरूमा सामान्यत: फोस्फरस नामको रासायनिक पदार्थ राखिएको हुन्छ । यस्ता वस्तुहरूलाई चम्काउनका लागी पहिला प्रकाशमा राख्नुपर्छ । प्रकाशले ती वस्तुहरूमा रहेको फोस्फरसका इलेक्ट्रोनहरूलाई 'उत्तेजित' पार्दछ । इलेक्ट्रोन उत्तेजित हुनु भनेको आफु बसिरहेको कक्ष छोडी माथिल्लो कक्षमा पुग्नु हो । यसरी माथिल्लो कक्षमा पुगेका इलेक्ट्रोनहरू छोटो समयमै आफ्नै कक्षमा नै आफ्नै कक्षमा आइपुग्दछन । यस्तो गर्दा इलेक्ट्रोनहरूले निश्चित फ्रिक्वेन्सीको प्रकाश उत्पादन गर्छन । यसरी उत्पादन भएको प्रकाशको कारणले नै प्लास्टिकका 'ताराहरू' चम्किन्छन ।
वैज्ञानिकहरूले प्रयोगशालामा धेरै प्रकारका फोस्फोरसहरूको निर्माण गरिसकेका छन । तर अँध्यारोमा चम्किने यस्ता वस्तुहरूमा सामान्यत: जिङ्कसल्फाइड वा स्ट्रोन्टियम अल्युमिनेट राखिएका हुन्छन । र, जिङ्कसल्फाइडभन्दा स्ट्रोन्टियम अल्युमिनेट धेरै समयसम्म चम्किरहने हुन्छ ।
अँध्यारोमा चम्कने कुनै कुनै वस्तुहरूमा फोस्फोरसका साथसाथै रेडियमजस्ता रेडियोएक्टिभ तत्वहरू पनि राखिएका हुन्छन । रेडियोएक्टिभ तत्वहरूले थोरै मात्रामा विकिरणहरू उत्पादन गर्छन ( यति थोरै कि यसले मानिसलाई केही हानी गर्दैन ) । यस्ता विकिरणहरूले फोस्फोरसलाई त्यस्तै किसिमले 'चार्ज' गर्छन, जस्तो प्रकाशले गर्छ । त्यसैले रेडियोएक्टिभ तत्व राखिएका यस्ता वस्तुहरू अँध्यारोमा धेरै समयस्म चम्किरहन्छन । यस्ता तत्वहरू खासगरी घन्टौँसम्म चम्किरहनुपर्ने घडीका सुईहरूमा राखिएका हुन्छन ।

एचआईभी/एड्सभन्दा सयौँ गुणा संक्रमणकारी र घातक हेपाटाइटिस 'बी' कलेजोको रोग हो। जुन हेपाटाइटिस 'बी' भाइरसको संक्रमणले एक व्यक्तिबाट अर्कोमा सर्छ। यो रोग सरेका बिरामीहरूमध्ये ९० प्रतिशत बिरामीलाई आफै निको हुन्छ भने १० प्रतिशत बिरामीहरू दीर्घरोगी हुन्छन्। ती दीर्घरोगीमध्ये २०/३० प्रतिशत व्यक्तिहरू कलेजोको सिरोसिस तथा क्यान्सर रोगले मृत्युवरण गर्छन्। विश्वको जनसंख्याको एकतिहाइ अर्थात् दुई अर्ब व्यक्तिहरू जीवनमा एकपटक यसको संक्रमणबाट प्रभावित हुन्छन्। तर, ९० प्रतिशत व्यक्तिहरू रोग प्रतिरोधात्मक क्षमताको कारण आफँै निको हुन्छन्।




अहिले विश्वको ३५ करोड जनसंख्या हेपाटाइटिस 'बी'बाट ग्रस्त छ, जसमध्ये करबि ७८ प्रतिशत अर्थात् साढे २७ करोड रोगीहरू एसिया र प्रशान्त क्षेत्रका छन्। अधिकांश एसियाली राष्ट्रहरूमा १० प्रतिशत जनसंख्या हेपाटाइटिस 'बी'का दीर्घरोगीहरू छन्। हेपाटाइटिस 'बी'बाट विश्वमा प्रत्येक वर्ष १० लाख व्यक्तिको मृत्यु हुन्छ। औसतमा प्रतिदिन २ हजार ८ सय व्यक्तिहरू, प्रतिघन्टा १ सय १५ व्यक्ति र प्रतिमिनेट करबि दुई व्यक्तिहरू हेपाटाइटिस 'बी'का कारण कलेजो फेलर, सिरोसिस वा क्यान्सर भएर मर्छन्। प्रत्येक वर्ष कलेजोको क्यान्सरबाट विश्वमा पाँच लाख व्यक्तिहरूको मृत्यु हुन्छ, तीमध्ये ३ लाख ६० हजार व्यक्तिहरू एसियाली राष्ट्रका हुन्छन्। एसिया, चीन, फिलिपिन्स अफ्रिका तथा मध्यपूर्व क्षेत्र हेपाटाइटिस 'बी' प्रकोपका क्षेत्रहरू हुन्, अहिले विश्वमा हेपाटाइटिस 'बी' र 'सी'ले ५० करोड व्यक्तिहरू संक्रमित छन्, जुन एचआईभी/एड्स -३ करोड ४० लाख)भन्दा १० गुण बढी हो। विडम्बना! यस रोगबारे यथेष्ट प्रचारप्रसार भएको छैन।




नेपालका सन्दर्भमा करबि ३ लाख १५ हजार व्यक्तिहरू हेपाटाइटिस 'बी'का दीर्घरोगीहरू छन्। जसमध्ये तिब्बती मूलका व्यक्तिहरू, मनाङका गुरुङ, शेर्पा जाति छन्। यस रोगबाट ग्रस्तमध्ये ७० प्रतिशत १५-४९ वर्ष उमेर समूहका छन्। जनसंख्याको ठूलो हिस्साले रक्त परीक्षण नगरेको हुँदा तथा दीर्घरोगीहरूमा केही वर्षसम्म कुनै लक्षण नदेखिने हुनाले यसको संख्या अझै बढिरहेको अनुमान गर्न सकिन्छ।




हेपाटाइटिस 'बी' भाइरस मान्छेको शरीरबाहिर करबि एक सातासम्म बाँच्न सक्ने तथा प्रतिमिलिमिटर रगतमा १० अर्बसम्मको संख्यामा रहन सक्ने भएकाले यो शीघ्र संक्रमण एवं प्रकोपजन्य रोग हो, जुन विश्वका प्राणघातक १० रोगहरूको सूचीमा पर्छ। अमेरकिाजस्तो विकसित राष्ट्रमा यस रोगबाट प्रतिवर्ष करबि चार हजार व्यक्तिको मृत्यु हुन्छ भने अपि|mका/एसियाका विकासोन्मुख राष्ट्रहरूमा १० प्रतिशत जनसंख्यामा यसको प्रकोप भएको भयावह तथ्यांक छ। युरोपमा समेत १ करोड ५० लाख व्यक्तिहरू हेपाटाइटिस 'बी'का दीर्घरोगीहरू छन्। भारत, पाकिस्तान, बंगलादेश तथा नेपालमा दुईदेखि आठ प्रतिशत जनसंख्या यस रोगबाट पीडित छ भने श्रीलंकामा एक प्रतिशतभन्दा कम जनसंख्या यस रोगले आक्रान्त छ।




उमेरका आधारमा यस रोगबाट संक्रमण भएका १० नवजात बच्चामध्ये नौ, पाँच वर्षमुनिका एक सय बालबालिकामध्ये ३० र एक सय प्रौढमध्ये दुई जना दीर्घरोगी हुन्छन्। तथ्यांकका आधारमा सबैभन्दा बढी १०-२४ वर्षका व्यक्तिहरूमा यस रोगको संक्रमण पाइएको छ भने महिलामा भन्दा पुरुषमा हेपाटाइटिस 'बी'को संक्रमण धेरै पाइएको छ।




सामान्य प्रयोगशालामै रक्तपरीक्षण गरे यस रोगको निदान हुन्छ। हेपाटाइटिस 'बी'को हालसम्म कुनै प्रभावकारी उपचार छैन। तर, यो लाग्नुभन्दा पहिले हेपाटाइटिस 'बी' विरुद्धको खोप तीन मात्रा -०, १, २ महिनामा वा ०, १, ५ महिनामा) लगाउनाले ९५ प्रतिशत रोकथाम हुन्छ। यो खोपबाट रोकथाम हुने भएकाले प्रत्येक उमेरका व्यक्तिले अनिवार्य रूपमा खोप लगाउनुपर्छ। हाल नेपालमा पनि बच्चाहरूलाई अन्य खोपसँगै हेपाटाइटिस 'बी'विरुद्धको खोप दिने गरएिको छ। तर, यसको पहुँच सहरी तथा विकसित क्षेत्रमा मात्र सीमित छ। यसको प्रभावकारी खोप भएर पनि विश्वमा प्रति ३०-४५ सेकेन्डमा एक जनाको यस रोगबाट मृत्यु भइरहेको छ।




जसलाई हेपाटाइटिस रोग लागेको छ, उनीहरूलाई यो संक्रमण भएको थाहा नै हुँदैन। तसर्थ, हेपाटाइटिस 'बी'लाई साइलेन्ट किलर पनि भनिन्छ। हेपाटाइटिस 'बी' संक्रमणको समयमै निदान र रेखदेख भए रोगीको तुरून्त मृत्यु हुँदैन। हेपाटाइटिस 'बी'बाट कलेजोको क्यान्सर तथा सिरोसिस हुन करबि २० वर्ष लाग्छ। उदाहरणका लागि सन् १९८२ मा कुल्ली फिल्मको सुटिङ्का क्रममा गम्भीर घाइते भएका बलिउडका विश्वप्रसिद्ध अभिनेता अमिताभ बच्चनलाई अति आकस्िमक कक्षमा राखेर दुई सय जना व्यक्तिले दिएको रगतमध्ये ६० पोका रगत दिइएको थियो। तर, एक जना हेपाटाइटिस 'बी' संक्रमित व्यक्तिको रगत उनलाई दिइएकाले हाल उनको २५ प्रतिशतभन्दा बढी कलेजोको सिरोसिस भएको छ। केही वर्ष पहिले मात्रै उनको स्वास्थ्य परीक्षण गर्दा यस्तो पाइएको हो।




सन्तुलित आहार, भाइरसविरुद्धको औषधीको प्रयोग, रक्सी तथा चुरोटको त्याग, सागपात, फलफूल फाइवरयुक्त र प्रशस्त भिटामिन पाइने खाना तथा नियमित व्यायाम आदिबाट कलेजोको सिरोसिस फेलर तथा क्यान्सर हुने अवधिलाई लम्ब्याउन सकिन्छ। हेपाटाइटिस 'बी'का दीर्घरोगीले आफैँमा बिरामी महसुस गर्दैनन् तर अरूलाई रोग सार्न र आफँैमा कलेजोको क्यान्सर गराउन खतरनाक हुन्छन्। तसर्थ, अभियानकै रूपमा खोपको अनिवार्यता र निदानका लागि सम्बन्धित निकायहरू तत्पर हुनुपर्छ। यो रोग लागेका ३५ करोड व्यक्तिहरूलाई खोप दिएर रोकथाम वा निको पार्न सकिँदैन। तसर्थ, अबको रणनीति भनेको रोग नलागेका सम्पूर्ण व्यक्तिलाई खोप दिने र रोग लागेका व्यक्तिहरूमा चेतना ल्याई अरूलाई रोग सार्न नदिने उपाय अवलम्बन गर्नुको विकल्प छैन।




-डा॰ रवीन्द्र पाण्डे (स्वास्थ्य विशेषज्ञ)



सर्वेक्षणमा य स्तो








डा॰ रवीन्द्र पाण्डेजीले काठमाडौँका विभिन्न माध्यमिक तथा उच्च माध्यमिक विद्यालयहरूमा अध्ययनरत ३ सय ८५ जना विद्यार्थीसँग २८ वटा प्रश्नमा गरेको क्रस सेक्सनल अध्ययनबाट हेपाटाइटिस 'बी'को चेतनास्तर यस्तो देखियो :






कारण







  • संक्रमित व्यक्तिसँग असुरक्षित यौनसम्पर्क गरेमा।



  • संक्रमित रक्तदाताबाट रगत लिएमा।



  • सामूहिक रूपमा एउटै सुईको प्रयोग गरी लागूपदार्थ सेवन गरेमा।



  • शरीरमा टाटु बनाउँदा नाक-कान छेड्दा वा एक्युपञ्चर गर्दा एउटै सुई वा औजारको प्रयोग गरेमा।



  • संक्रमित व्यक्तिले दाँत माझ्ने ब्रस, ब्लेड, कानको रङि, नङ काट्ने सामग्री प्रयोग गरेमा।



  • कपाल वा दाह्री काट्दा पर्याप्त सफाइ नभएमा।



  • गर्भवती आमाबाट आफ्नो शिशुमा।



  • संक्रमितले चपाएको चुइगम अर्को व्यक्तिले खाएमा।



  • संक्रमित व्यक्तिले खाना चपाएर बच्चालाई खुवाएमा।



  • संक्रमित व्यक्तिले टोकेमा आदि।







लक्षण






  • वाकवाकी लाग्ने।



  • भोक नलाग्ने।



  • थकाइ लाग्ने।



  • मांशपेसी जोर्नी वा पेट दुख्ने।



  • जरो आउने।



  • पखाला लाग्ने, वान्ता हुने।



  • टाउको दुख्ने।



  • गाढा रङको पहेँलो पिसाब देखिने।



  • छाला, आँखा, जिब्रो पहँेलो हुने।











जोखिम समूह






  • सुरक्षित तथा धेरै जनासँग यौनसम्पर्क गर्ने।



  • रक्तसँग काम गर्नुपर्ने वा बिरामी स्याहार्नुपर्ने जस्तै स्वास्थ्यकर्मी।



  • नसाबाट लागूपदार्थको सुई लिने।



  • हेपाटाइटिस 'बी' प्रकोप क्षेत्रमा भ्रमण गर्ने।



  • पटक-पटक दातबाट रगत लिनुपर्ने बिरामी ।











रोकथाम






  • हेपाटाइटिसको खोप सबै व्यक्तिले अनिवार्य रूपमा लगाउने।



  • रक्तदान गर्ने व्यक्तिको रगत परीक्षण गर्ने। रक्तदाताको विगतको यौनिक व्यवहारबारे जानकारी लिने।



  • धेरै जनासँग यौनसम्पर्क नगर्ने । गर्नुपर्ने अवस्थामा कन्डमको सही तरकिाले सधैँ प्रयोग गर्ने।



  • नवजात शिशु तथा किशोर-किशोरीलाई अनिवार्य खोप दिने।



  • नसाबाट लागूपदार्थ सेवन नगर्ने वा एउटा सुई एक जनाले मात्र प्रयाग गर्ने।



  • तिखा सुई वा औजारलाई विसंक्रमित पञ्जा लगाएर प्रयोग गर्ने र शंकास्पद भुईं वा ठाउँलाई राम्रोसँग सफा गर्ने।



  • संक्रमित व्यक्तिले चपाएको खाना बच्चालाई नदिने।



  • व्यक्तिगत सामग्रीहरू जस्तै- ब्लेड, दाँत माझ्ने ब्रस, इयर रङि्, नङ काट्ने सामान आदि अर्को व्यक्तिले प्रयोग नगर्ने।



  • घाउलाई राम्रोसँग पट्टीले बाँधेर छोप्ने।


(कान्तिपुरबाट)

हालसम्मको विज्ञान इतिहासले दर्शाए अनुसार पृथ्वीमा जीव उत्पत्तिको एउटै सिद्धान्त रही आएको छ । सो कुरालाई जीव रसायनशास्त्रको महत्वपूर्ण सिद्धान्तले पुष्टि गर्दछ । जस अनुसार पृथ्वीमा उत्पत्ति भएका प्रत्येक जीवको बनोट ६ वटा प्रमुख रसायन तत्वले बनेको हुन्छ, ती हुन: कार्बन, हाइड्रोजन, अक्सिजन, नाइट्रोजन, सल्फर र फोस्फोरस । यस सिद्धान्तलाई Golden Rule of Bio-chemistry पनि भनिन्छ । तर हालै पत्ता लागेको आर्सेनिक रसायन उपयोग गर्ने व्याक्टेरियाले जीव उत्पत्तिको फरक धारलाई इंगित गर्दै पृथ्वी बाहेकका अन्य खगोलीय पिण्डमा जीव उत्पत्तिको बारेमा गहिरो ध्यानाकर्षण गरेको छ ।


साईन्स जर्नलको डिसेम्बर २०१० अंकमा प्रकाशित एक अध्ययन अनुसार संयुक्त राज्य अमेरिकाको उत्तरी क्यालीफोर्निया स्थित मोनो तालमा आर्सेनिक रसायन प्रयोग गर्ने व्याक्टेरिया पत्ता लागेको हो । उक्त अध्ययनको प्रमुख अध्ययनकर्ता Felisa Wolfe-Simon र उनका सुपरिवेक्षकहरु प्राध्यापक Davies र प्राध्यापक Anbar का अनुसार उक्त व्याक्टेरियाले प्रचलित जीव रसायनशास्त्रको सिद्धान्त विपरीत आफ्नो संरचना तथा उपयोगमा आर्सेनिक प्रयोग गरेको पाइयो । यस अनुसन्धानका अनुसन्धानकर्ताका अनुसार यो अनुसन्धानको मुख्य उद्देश्य जीवमा साधारणतया विषालु मानिने आर्सेनिकले फोसफोरसको ठाउँ लिन सक्छ कि सक्दैन भन्ने थियो । यस उद्देश्यलाई अगाडि बढाउन अनुसन्धानकर्मीहरुले आर्सेनिकको मात्रा बढी भएको मोनो तालमा अध्ययन गरेको थिए । उक्त व्याक्टेरियाले आफ्नो बासस्थानमा पाइएको आर्सेनिकलाई नै प्रमुख स्रोतको रुपमा प्रयोग गरेको पाइयो ।


यस तथ्यलाई पुष्टि गर्न अध्ययनकर्ताले उक्त व्याक्टेरियालाई प्रयोगशालामा क्रमिक रुपमा बढी आर्सेनिकको मात्रा दिई हुर्काएका थिए । परिणाम आश्र्चयचकित तुल्याउने थियो । व्याक्टेरियाले आफ्नो विकास क्रममा आर्सेनिकलाई शक्तिको रुपमा मात्र उपयोग नगरी डि.एन.ए. मा नै फोसफोरसलाई विस्थापन गरी आर्सेनिकलाई समेटेको पाइएको थियो । यस अघि पनि कतिपय व्याक्टेरियाले आर्सेनिकलाई शक्तिको रुपमा प्रयोग गरेको पाइएको छ तर आफ्नो शरीरको संरचनामा नै उपयोग गरेको पाइएको भने यो पहिलो हो । यो अनुसन्धानको परिणाम जीवन सम्बन्धी हाम्रो परम्परागत वैज्ञानिक धारणा भन्दा पृथक नयाँ रहस्योद्घाटन तर्फ उन्मुख रहेको छ । यद्यपि, अनुसन्धानको तत्कालिन परिस्थिति सम्म जीवनको उत्पत्तिको नयाँ बाटो भने खुट्याउने नसक्ने प्राध्यापक म्बखष्भक भन्नुहुन्छ र उक्त परिणाम व्याक्टेरियाको क्रमिक विकासको अनुकुलन (Evolutionary adaption) हुन सक्ने प्राध्यापक Davies विश्वास गर्नुहुन्छ । तर, अनुसन्धान आफ्नो पहिलो वर्षमा नै रहेको र नयाँ तथ्य फेला परेको कुरा सर्वसम्मत भएकोले, जीवनको दोस्रो शुरुवात सम्बन्धी धारणालाई नकारी हाल्नु पर्ने भने नभएको कुरा उहाँ अगाडि भन्नुहुन्छ । यस्तै गरी, यो खोज पृथ्वी बाहेकका खगोलिय पिण्डमा जीवनको सम्भावनालाई पनि डोर्याएको छ । शनि ग्रहको उपग्रह अर्थात् टाइटनमा प्रयाप्त रुपमा आर्सेनिक रहेको र उक्त ग्रहको तापक्रम आर्सेनिकको स्थायित्वको लागि उपयुक्त रहेकोले टाइटनमा आर्सेनिक प्रयुक्त जीवनको सम्भावना सम्बन्धी जिज्ञासा बढाएको छ र अन्ततः यस अनुसन्धानले के जीवन सृष्टीको फरक धार हुन सक्छ भन्ने प्रश्नमा थुप्रै चासो र चर्चा बटुलेको छ ।


- रविन्द्र पाण्डेय (विज्ञान लेखमालाबाट)


प्राकृतिक विविधताले भरिएको हाम्रो देश नेपालमा, विभिन्न विशेषता बोकेका रुख विरुवाहरु अर्थात् वनस्पति पाईन्छन् । नेपालमा थुप्रै प्रकारका जडीबुटी पाइने भएता पनि यसको पूर्ण उपभोग र यसबाट लाभान्वित हुन सकेको छैन । यसको प्रमुख कारण भनेको यसलाई उपयोगजन्य बनाएर प्रचार प्रसार नगरिनु देखिन्छ । बजारमा रासायनिक प्रविधिका निकै महंगो र मानव शरीरलाई दीर्घकालीन हानी पु¥याउने औषधीहरुले नै प्राथमिकता पाएको देखिन्छ । उता आफ्नै भूमिमा पाइने अनेकौं रोगहरु निको पार्ने जडीबुटी भने ओझेलमा परेका छन् , जसको प्रयोग गर्नाले शरीरमा कुनै अप्राकृतिक हानी नगरी आर्थिक भार समेत कम हुन्छ । नेपालमा यस्ता औषधीय गुण बोकेका थुप्रै जडीबुटी र वनस्पतिहरु पाइन्छन् । यस्तै गुण बोकेको वनस्पति मध्ये नीम पनि एक हो । यो नेपालको पहाडी र तराईका भू भागमा पाइने वनस्पति हो । अन्य रुख विरुवाहरुको तुलनामा वायुमण्डल तथा पर्यावरणलाई शुद्ध बनाइ राख्ने क्षमता नीममा लुकेको हुन्छ । यस बाहेक नीममा यति धेरै औषधीय गुणहरु हुन्छन् जसको पहिचान गरेर प्रयोगमा ल्याउन सके निकै फाइदा हुने प्रमाणहरु सिद्ध भएका छन् ।


मानिसको शरीरमा देखिने छालाको रोग, दाँतको रोग, घाउ खटिरा, तथा रक्त विकार जस्ता विभिन्न रोगहरुदेखि लिएर अन्न बालीमा लाग्ने रोगहरुको समेत नीमबाट छुटकारा पाउन सकिन्छ । नीम यस्तो वनस्पति हो, जसको पात, डाँठ, बोक्रा, जरा, फलफूल सबै अंगमा औषधीय गुणहरुले भरिपूर्ण हुन्छ । यिनै विविध गुणहरुले गर्दा यसलाई औषधीय वनस्पतिको नामले समेत चिनिन्छ । आयुर्वेदले नीमलाई प्रकृतिको अनुपम उपहार मानेको छ । अझ भनौं, यसको तुलना अरु कुनै साधारण वनस्पतिसँग हुन सक्तैन । यसको विशेषता भन्नु नै आफ्नो गुण र महत्वलाई कहिल्यै पनि कमी हुन नदिनु हो । प्राचीन कालदेखि नै मानिसहरुको घर आँगन र बारी÷कान्लामा यसले आफ्नो ठाउँ ओगेटेको देखिन्छ । नीम आयुर्वेदमा मात्र नभई आधुनिक चिकित्सा पद्धतिमा पनि उत्तिकै महत्वपूर्ण मानिन्छ । नेपालको ग्रामीण समुदायमा नीमको लोकप्रियता सँधै अग्रपंक्तिमा रहेको छ । यसको तेलमा मात्र कीटनाशक क्षमता नभएर पात तथा बोक्रामा पनि त्यतिनै गुणहरु विद्यमान रहेका छन् । अन्य बालीको भण्डार गर्दा नीमको पात मिसाएर भण्डार गर्नाले कीरा लाग्नबाट जोगाउन सकिन्छ ।


हाम्रो खेत बारीमा लगाएका बालीहरुमा पनि विभिन्न कीराहरु लागेर बालीनाली नष्ट गर्दछ । त्यस अवस्थामा नीमको पात तथा बोक्रा कुटी पानीमा मिसाइ उक्त कीटाणु लागेको बालीहरुमा छर्कनाले कीराहरु समेत हराउँदछ । घर, आँगन, कोठा आदिमा पनि भुसुना सुलसुले जस्ता कीराहरु छन् भने नीमको बोक्रा र पात बालेर त्यसको धुँवा र खरानी प्रयोग गर्नाले कीराहरु हराउँदछन् । शरीरको कुनै अंगमा लुतो, घाउ, खटिरा निस्केमा नीमको बोक्रालाई मसिनो हुने गरी कुटेर लेदो बनाई नियमित ४-४ दिन उक्त घाउ खटिरामा लगाउनाले छिट्टै निको हुन्छ । नीम भरपर्दो एण्टिसेप्टिक समेत भएकोले शरीरको कुनै अंग काटिएमा यसको पातलाई पिसेर लगाउँदा अन्य संक्रमण हुनबाट जोगाउन सकिन्छ । नीमको स्वाद तीतो हुन्छ, त्यसैले यसको पात, डाँठलाई पिसेर रस बनाई नियमित सेवन गरे मधुमेहका रोगीहरुका अतिरिक्त विकारलाई समेत नष्ट गरी रगत सफा बनाउन मद्दत गर्दछ । दाँत हल्लने, गिजा सुन्निने र दाँत माझ्दा रगत आउने रोग छ भने दैनिक नीमको डाँठ प्रयोग गरी दाँत माँझनाले उक्त रोगहरुबाट बँच्न सकिन्छ । शरीरमा स-साना डावर वा एलर्जी भएको बेला यसको पातको खरानी वा रस लगाएमा निकै आराम हुन्छ । यही निमलाई आधुनिक चिकित्सा र परिवार नियोजनका लागि पनि प्रयोगमा ल्याउने प्रयास भइरहेको बताइन्छ । छातीको ब्रोङक्राइटिस, घाँटीमा निस्कने खटिरा, नाक भित्र घाउ निस्केमा नीमको डाँठको बोक्रा निकालेर मुख बन्द गरी निकै समय लगाएर चपाउने गरे उक्त समस्याहरु हटेर जान्छन् । नीममा भएका यिनै अनेकौं गुणहरुले गर्दा यसको महत्वलाई बुझी यसको उचित संरक्षण र प्रयोग गर्नु पर्ने देखिन्छ । जसको सम्बद्र्धनबाट हाम्रो विग्रदो पर्यावरणलाई समेत राहत पुग्ने देखिन्छ ।

मानव स्वास्थ्यको दृष्टिकोणले उच्च रक्तचाप एक जोखिमपूर्ण रोग हो । यसले हृदयघात, मृगौलाको कार्य क्षमतालाई बेकामको गराउने जस्ता रोगहरु निम्त्याउँछ । यसलाई "सुटुक्क ज्यान लिने रोग" भनेर पनि चिन्ने गरिन्छ । उच्च रक्तचाप भएका धेरै व्यक्तिहरुमा यसको केही पनि लक्षण नदेखिन सक्छ । त्यसैले ४० वर्ष नाघेका व्यक्तिहरुले नियमित परीक्षण गराई डाक्टरको सल्लाह अनुसार जीवन बिताउन उचित हुन्छ ।


शरीरको विभिन्न भागमा अक्सिजन पु¥याउने कार्य रक्त नलीबाट बग्ने रगतले गर्दछ । यी रगत नलीमा प्रवाह हुँदा त्यस नलीमा चाप उत्पन्न हुन्छ । यसरी रक्त नलीमा हुने चापलाई रक्त चाप भनिन्छ । रक्तचाप दुई किसिमको हुन्छ । जसलाई सिस्टोलिक र डायस्टोलिकको रुपमा नापिन्छ । मुटु पुरै खुम्चिएको अवस्थालाई सिस्टोलिक चाप र फुकेको अवस्थामा हुने चापलाई डायस्टोलिक चाप भनिन्छ ।


रक्तचाप नाप्ने प्रक्रियामा जुन व्यक्तिको नाप लिइने हो त्यो व्यक्ति कम्तीमा ५ मिनेट आरामसित बसेको हुनु पर्दछ । आधा घण्टा पूर्व कफि चिया जस्ता नाडी उत्तेजना हुने किसिमका पेय पदार्थ पिएको हुनु हुँदैन । किन भने यी पेय पदार्थको सेवनले रक्तचाप बढ्न सक्ने सम्भावना प्रबल रहन्छ । विशेष गरी रक्तचाप नाप्दा आरामसित बसेको अवस्थामा हुनु पर्दछ । पारोयुक्त रक्तचाप नाप्ने यन्त्र मर्करी स्फाइग्मो म्यानोमिटर सबैभन्दा उपयुक्त मानिन्छ र यसको इकाइ पारोसँग दाँजेर राखिएको हुन्छ । जस्तैः १२० कि.मि. र ८० मि.मि. पारोलाई सामान्य चाप मानिन्छ । रक्तचाप नाप्ने यन्त्र पाखुरामा स्थापित गरी सकेपछि स्थेस्कोपको मद्दतले नाडीको चालको नाप सुनेर रक्तचाप निकालिन्छ । जहाँबाट नाडीको ढुकढुक आवाज सुन्न शुरु हुन्छ त्यसलाई सिस्टोलिक प्रेशर वा माथिल्लो रक्तचाप र जहाँबाट ढुकढुकी आवाज सुन्न छोडिन्छ त्यसलाई डायस्टोलिक वा तल्लो रक्तचाप भनिन्छ । हिजोआज रक्तचाप जाँच्ने उपकरणहरु विभिन्न किसिमका छन् र सही रक्तचाप निकाल्न कुनै पनि उपकरण प्रयोग गर्दा कम्तीमा पनि दुई तीन पल्ट दोहो¥याउन आवश्यक पर्दछ ।


साधारण रक्तचाप भन्नाले १२० मि.मि. सिस्टोलिक र ८० मि.मि. डायस्टोलिक भन्ने बुझिन्छ । सामान्यतया सिस्टोलिक र डायस्टोलिक चापको मानमा २० मि.मि. सम्मको घटबढलाई पनि साधारण नै मान्न सकिन्छ । यदि सिस्टोलिक वा डायस्टोलिकको मान साधारण भन्दा असामान्य रुपले फरक देखाउँछ भने त्यस किसिमको रक्तचाप भएको व्यक्तिलाई ब्लड हाइपरटेन्सन भएको भनिन्छ । त्यस्तै यदि एकदमै कम चाप देखाएको खण्डमा सो व्यक्तिलाई हाइपोटेन्सन भएको भनिन्छ ।



रक्तचाप घटबढ हुनुको कारण


शरीरलाई अनावश्यक हर्मोनहरु शरीर बाहिर फ्याक्ने दरमा परिवर्तन आएमा रक्त धमनीको भित्ता वरपरको मोटाईमा पनि फरक आउँछ । यस्तो परिवर्तनले रक्तचापमा नकारात्मक असर पु¥याउँछ । जसले गर्दा हाइपरटेन्सन वा हाइपोटेन्सन हुने हुन्छ । ५ देखि १५ प्रतिशत रोगीहरुमा गरिएको एक अध्ययनमा रक्तचाप दोस्रो कारकको रुपमा देखिएको छ । किड्नी, धमनी र नशाका रोगीहरुका अलावा मोटोपना घटाउने औषधी खाने र आगोले पोल्दा लगाउने औषधी आदिको प्रयोगले पनि रक्तचाप घट्ने वा बढ्ने हुन जान्छ । यस्तो रोगीहरुलाई एसनसियल हाइपरटेन्सनको दर्जामा राख्ने गरिन्छ । यिनीहरुको रक्तचापमा फरक आउनुको विभिन्न कारणहरु मध्ये तन्तुहरुमा हुने जैविक परिवर्तन, पुर्खौली वंशाणु, उत्तेजनात्मक तनाव, वातावरणीय प्रभाव आदिबाट हुन सक्दछन् अरु सम्बन्धित कारणहरु जस्तैः मोटोपन, उच्च चिल्लोपना, न्यून क्याल्सियम, म्याग्नेसियम वा पोटासियम, रगतमा चिनीको मात्रा उच्च हुनु, धुम्रपान, मदिरा सेवन र मनोवैज्ञानिक कारणहरु नै रक्तचापमा भिन्नता ल्याउने कारकहरुको रुपमा लिइने गरिन्छ । कर्कस ध्वनीको निरन्तर सम्पर्कमा रहने व्यक्तिलाई पनि उच्च रक्तचाप हुन सक्दछ । ध्वनीले गर्दा एडरेनल हर्मोनको संख्यामा बृद्धि हुन जान्छ जसले रक्तचाप बढाउँछ ।



हाइपोटेन्सन भएको कसरी थाहा पाउने ?


सामान्यतया हाइपोटेन्सन लाई (न्यून रक्तचाप) असाधारण अवस्था मानिन्छ । न्यून रक्तचाप विरलैलाई मात्र हुने हुन्छ । धेरै जसो सामान्य कुराकानी गर्दा आफूलाई न्यून रक्तचाप छ भन्ने गरेता पनि बढी भन्दा बढी यस्ता व्यक्तिहरुको सिस्टोलिक चाप ९० बाट ११० कि.मि. (पारो को हाराहारीमा पाइन्छ । उक्त चापलाई साधारण नै मानिन्छ । अर्को रोचक पक्ष यस्ता व्यक्तिहरुको आयु सामान्य रक्तचाप भएका मानिसहरुको भन्दा बढी भएको


पाइएको छ ।


असाधारण हाइपोटेन्सन ले खतरनाक रोगलाई इंगित गरेको हुन्छ । जस्तै वाह्य तरल पदार्थको निष्कासन, मष्तिस्क स्राव हुनु, वान्ता हुनु, झाडा पखाला लाग्नु, बढी पिसाब लाग्नु, औषधीको अधिक प्रयोग, आगोले पोल्नु, अधिक पसिना आउनु, हृदयाघात हुनु, भित्री तरल पदार्थमा कमी आउनु, आन्द्रामा रोकावट हुनु र फोक्सोमा रगत जम्नु जस्ता कारणहरुले पनि रक्तचापमा कमी आउँदछ । मुटु वा त्यससित सम्बन्धित अन्य अंगमा खराबी देखिएमा हृदयाघात, नाडीको चालमा फरक आउनु, छातीमा अत्यधिक पीडा हुनु, रक्तनलीहरुमा धेरै खराबी आउनु पनि हाइपोटेन्सनका लक्षणहरु हुन् ।



गर्भिणी अवस्थामा हुने असर


गर्भिणी अवस्थामा र सुत्केरी अवस्थामा हुने असामान्य रक्तचापले आमा बच्चा दुवैलाई प्रतिकूल असर पर्न सक्दछ । बच्चा जन्माउने बेला यदि आमालाई गहिरो हाइपोटेन्सन भएको छ भने बच्चा तुहिने डर हुन्छ । अझ यो अवस्था पहिलो पटकको बच्चा जन्माउन लागेको महिलाको लागि अझै घातक हुन्छ । दोस्रो वा तेस्रो बच्चा पाउने बेला यदि यस्तो अवस्था भएमा बच्चा जन्मनासाथ मर्ने वा पूर्ण विकसित नभएको बच्चाको जन्म हुन सक्दछ । बच्चा पाउने बेलामा यदि हाइपोटेन्सन भएको छ भने कोमा वा मृत्यु समेत हुने


सम्भावना हुन्छ । यी दुवै कुराको अलावा हाइपोटेन्सनले शरीरको विभिन्न अंगहरु जस्तै सालनाल, कलेजो, मुटुलाई पनि राम्रोसँग काम गर्न नसक्ने बनाईदिनाले मुटुको चाल नै बन्द हुन गई मृत्यु समेत हुन सक्दछ ।



उच्च वा न्यून रक्तचापका लक्षणहरु


हाइपरटेन्सनको सामान्य लक्षण अधिकांश मानिसहरुमा पाइदैन । यो रोग आफूलाई भए नभएको थाहा पाउन समय समयमा रक्तचाप नाप्ने गर्नु पर्दछ । यदि कसैलाई हाइपरटेन्सन भएको छ भने बिहानीपख अलि अलि टाउको दुखेको अनुभव हुनु, आँखाको शत्तिः कम हुँदै जानु, मुटुको धडकन अप्रत्यासित रुपले बढ्नु, छिटोछिटो तर छोटो श्वास फेर्नु आदि लक्षणहरु देखा पर्दछन् । हाइपरटेन्सन को लक्षण नै नभएको व्यक्तिलाई यदि कसैले तिमीलाई हाइपरटेन्सन भएको छ भनी दिएको खण्डमा त्यो व्यक्ति मनोवैज्ञानिक रुपमा विचलित भई हाइपरटेन्सनका लक्षणहरु आफूमा देखिन थालेको अनुभव गर्दछ ।


यस्तो मनोवैज्ञानिक असर परेको अवस्थामा पसिना खलखलि निस्कनु, टाउको दुख्नु, मांशपेशी कमजोर हुनु आदि जस्ता लक्षणहरु देखिन्छ । हाइपोटेन्सनको अवस्थामा व्यक्तिमा कमजोरी अनुभव हुनु, जीउ सितांग हुनु, रिंगटा लाग्नु वा बेहोस हुनु आदि जस्ता लक्षणहरु


देखा पर्दछन् ।



उपचार


हाइपरटेन्सनको उपचार नियमित औषधी सेवन गरी रक्तचापलाई नियन्त्रणमा राख्नु हो । ५ देखि १५ प्रतिशत उच्च रक्तचापका रोगीहरुको उपचार रोगको कारण पत्ता लगाएर मात्र गर्ने गरिन्छ । तर ८५ देखि ९५ प्रतिशत रोगीहरु जसको रोगको कारण थाहा लाग्दैन, यिनीहरुको उपचार भनेको नियमित रुपले जीवनभर औषधीको सेवन गर्नु नै हो । केही रोगीहरुलाई भने खाना, धुम्रपान, मदिरा सेवन, तनाव आदिमा परिवर्तन गरी रक्तचाप नियन्त्रण गर्न सकिन्छ भने केहीलाई औषधीको सेवनमा क्रमशः कमी गराएर नियन्त्रण गर्न सकिन्छ । रक्तचापमा नियन्त्रण ल्याउनु भनेको एउटा लामो प्रक्रिया हो । यस प्रक्रियामा बिरामीले थेग्न सक्ने हिसाबले एक वा धेरै किसिमका औषधीको मात्रा बिस्तारै बढाउँदै लानु पर्दछ । हाइपोटेन्सनको उपचारमा औषधीको सेवन गराइदैन । यसको सट्टामा नून सेवनको मात्रा बिस्तारै बढाइन्छ । कुनै कुनै बिरामीहरुको रक्त चाप अकस्मात् घट्ने हुन्छ । यस्तो बिरामीको लागि खुट्टाको तल्लो भागमा पट्टि कसेर पनि रक्तचापमा अकस्मात् हुने कमीबाट बचाउन सकिन्छ ।


हिजोआज हाइपरटेन्सनबाट अधिकांश मानिसहरु पीडित छन् । शरीरको धेरै भन्दा धेरै अंगहरु क्षति पु¥याउनमा यसले प्रमुख भूमिका खेल्दछ । यो रोगले बहुसंख्यक मानिसको आयुलाई छोट्टयाउँछ र जीवनको स्वरुपलाई नै बेढंगा बनाउँदछ । त्यसैले रक्तचाप घटबढ हुनु स्वास्थ्यको हिसाबले अत्यन्त खतरापूर्ण मानिन्छ । त्यसैले यसबाट बच्न बेलैमा सचेत हुन आवश्यक छ ।



रक्तचाप भएको खण्डमा अपनाउनु पर्ने कुराहरु



  • चिकित्सकको सल्लाहलाई इमान्दारिताकासाथ पालना गर्ने ।

  • उचाइको हिसाबले आफ्नो हुनु पर्ने निश्चित तौलको ख्याल राखि बढी भएमा घटाउने ।

  • यदि मधुमेहको रोगी हुनुहुन्छ भने त्यसको नियन्त्रण गर्ने,

  • दिनमा ५ ग्रामभन्दा कम मात्र नून लिने,

  • नियमित व्यायाम गर्ने,

  • पोटासियम, क्याल्सियम र म्याग्नेसियम बढी पाइने खानेकुराको सेवन गर्ने,

  • आफूले खाने औषधीको नाम र त्यसको मात्रा याद गर्ने ।



रक्तचाप भएको मानिसले बार्नुपर्ने कुराहरु


बोसो भएको खाना, चर्को नून भएको खानेकुरा जस्तै अचार, पापड, बिस्कुट, पाउरोटी, ड्राइमिट, टिनमा बन्द भएका खानेकुराहरु आदि नखाने, धुम्रपान नगर्ने, डाक्टरसित सल्लाह नलिई उपचार बन्द नगर्ने, रक्तचापको औषधी सिध्याएर नबस्ने, तौल घटाउने र रुघाको औषधीको सेवन नगर्ने, आराम गर्न सिक्नुहोस र बढी श्रमयुक्त काम नगर्नुहोस, साधारण र ठूलो शल्यक्रिया गर्नु अघि आफ्नो सम्बन्धित डाक्टरलाई आफूले लिने गरेको औषधीहरुको जानकारी दिन नभुल्नुहोस् ।


(विज्ञान लेखमाला÷अंक ३५३ असार २०६७ बाट)

एलर्जी के हो ?

Posted by Om Bhandari On 2:21 AM

सन् १९०६ मा बालरोग विशेषज्ञ Dr. Clemens Von Pirquet ले उनका बिरामीहरु धूलो धुँवा आदिका कारण मात्रले पनि क्षणिक रुपमा बिरामी भइ उपचारार्थ आउने गरेको कुरा थाहा पाए पछि उनले त्यस्ता रोगलाई एलर्जी भन्ने नामाकरण गरे । एलर्जी शब्द दुई वटा ग्रीक शब्दहरु 'Allois' र'Egron' लाई समेटिएर नामाकरण गरिएको थियो , जसको अर्थ " अन्य कार्य " भन्ने बुझिन्छ ।


सामान्यतया हावा हुरी चल्ने र गर्मी शुरु हुने मौसम अर्थात् बसन्त र गृष्म ऋतुहरुमा मानिसहरु एलर्जीबाट प्रभावित हुने गर्दछन् । हावामा तैरिरहने परागकण , धुलो , धुँवा , जनावरको रौं , कीराको टोकाइ , पेटमा पाइने जुका , चराको प्वाँख , खानेकुरा तथा औषधिको सेवनबाट एलर्जी हुन सक्छ । एलर्जी गराउने यस्ता वस्तुहरुलाई allergen भनिन्छ । अत्याधिक मानिसहरुलाई परागकणको सम्पर्क वा खानेकुराबाट एलर्जी हुने गरेको पाइएको छ । खानेकुरामा पाइने तेलीय पदार्थ तथा प्रोटीन एलर्जीका प्रमुख कारक तत्वहरु हुन् । बदाम , पेस्ता , ओखर , फुलको सेतो भाग , दूध , माछा , किवी , फल , केरा , मसलाहरु तथा खानेकुरामा मिसाइने रङ्गहरुबाट एलर्जी हुने मानिसहरुको संख्या अधिक पाइन्छ ।


Allergen हरु त्यस्ता वस्तुहरु हुन , जुन हाम्रो शरीरले मन नपराइएका हुन्छन् । यी वस्तुहरु सम्पर्कमा आएपछि , शरीरको प्रतिरोधात्मक प्रणालीले यस विरुद्ध लड्न र यसलाई निस्तेज तुल्याउन शरीरमा antibodies लाई तयार पार्दछ , जसलाई Immunoglobulin E (IgE) भनिन्छ । यी एलर्जीका कारक तत्वहरु हुन , जुन वास्तविक रुपमा हानिकारक हुँदैन , तथापि यसलाई दबाउन IgE ले शरीरका कोषहरुलाई अत्यधिक मात्रामा एलर्जीको औषधिको निम्ती प्रयोग गरिने एक पदार्थ (histamine) उत्सर्जन गर्न उत्प्रेरित गर्दछ । यस प्रतिक्रियालाई हामी शरीरले गरेको अनावश्यक कार्यको रुपमा पनि व्यक्त गर्न सक्दछौ । फलस्वरुप हाम्रो शरीरमा एलर्जीका लक्षणहरु देखा पर्न थाल्दछ । शरीरमा फोका फोका आउने , चिलाउने , नाकबाट पानी बग्ने , लगातार हाच्छिउ आउने , आँखा चिलाउने , आँखा रातो हुने , आँशु बगिरहने , दम बढ्ने आदि एलर्जीका लक्षणहरु हुन् । सामान्यतया एलर्जीले हानि पुराउँदैन भन्ने मान्यता रहेको पाइन्छ , तर कहिलेकाँही औषधिको सेवन तथा कीराको टोकाइबाट घातक एलर्जी हुन सक्दछ , जसलाई anaphylaxis भनिन्छ । Anaphylaxis ले गर्दा मानिसको मृत्यु पनि हुन सक्छ ।


एलर्जी हुने कारक तत्वहरु मानिसै पिच्छे फरक फरक हुन सक्छ , किनकी मानिसको शरीरमा पाइने क्ष्नभ् को त्यस्ता कारक तत्वहरु पहिचान गर्न सक्ने क्षमता फरक फरक हुन्छ । प्रत्येक क्ष्नभ् को त्यस्ता बििभचनभल सँग प्रतिक्रिया गर्न सक्ने गुण पनि फरक फरक हुन्छ । साथै , एलर्जी हुने/नहुने कुरा व्यक्तिको सहन सक्ने क्षमता र उमेरमा पनि निर्भर गर्दछ । औषधि विज्ञानले शरीरभित्र हुने एलर्जीका घटनाहरुलाई अझसम्म पनि पूर्ण रुपमा प्रष्टयाउन सकेको छैन , तर पनि एलर्जीको सम्भावना बढ्दो उमेरसँगै क्रमशः घट्दै जाने कुरा अध्ययनमा देखिएको छ ।


महिला भन्दा पुरुषमा एलर्जीको सम्भावना बढी हुन्छ । कम बिकसित मुलुक भन्दा विकसित मुलुकको मानिसहरुमा बढी एलर्जी हुने गरेका तथ्यांक पाइन्छ । त्यस्तै ग्रामीण भेगमा बस्ने मानिसहरु भन्दा शहरी क्षेत्रमा बसोबास गर्ने मानिसहरु बढी मात्रामा एलर्जीले संक्रमित भएको पाइन्छ । तसर्थ धुलो धुँवाको घनत्व र शरीरको प्रतिरोधात्मक क्षमताको आधारमा एलर्जी हुने/नहुने कुरा निर्देशित हुन सक्ने खतरा रहन्छ भन्ने मान्यताको विकास भएको पाइन्छ ।


एलर्जीको उपचारको लागि antihistamine औषधिहरुले शरीरमा histamineको उत्सर्जन कार्यलाई न्यून गरी एलर्जीका लक्षणहरु घटाउन मद्दत गर्दछन् । तर एलर्जीको उपचारको लागि संधै antihistamine औषधिहरुको सेवन गर्नु उपयुक्त मानिदैन किनकी यस्ता औषधिहरुले शरीरमा आलस्यता बढाउने , लठ्ठ पार्ने , निन्द्रा लगाउने , आँखा सुख्खा बनाउने जस्ता असरहरु देखाउने गर्छन र यस्ता औषधिहरु केही दिनदेखि वर्षौ वर्षसम्म पनि खाइरहनु पर्ने हुन सक्छ , जबसम्म शरीरले एलर्जीको कारक तत्वसँग छुटकारा पाउँदैन । तसर्थ के कारक तत्वबाट शरीरमा एलर्जी भइ राखेको छ , त्यसको पहिचान गरी , त्यसबाट टाढा रहनु नै यसको सबैभन्दा राम्रो उपचार हो । एलर्जी हुनु पूर्व र एलर्जी भइराखेको समयमा आफूले गरेको क्रियाकलापहरुलाई ख्याल गरी रेकर्ड राख्नाले एलर्जीको कारक तत्वको पहिचान गर्न मद्दत पुग्नेछ ।


विज्ञान र प्रविधिको विकाससँगै शरीरको रगत परीक्षण र छाला जाँचबाट एलर्जी नभएको कुरा पत्ता लगाउने प्रविधि पनि विकसित भइसकेको छ । रगतको नमूना संकलन गरी त्यसमा IgE को उपस्थिति र मात्रा मापन गरी एलर्जी नभएको जाँच गरिन्छ , जसलाई RAST (radioallergosorbent test) प्रविधि भनिन्छ । विभिन्न allergen हरु छालामा राखी , त्यस पछि छालाले कस्तो प्रतिक्रिया जनाउँदछ त्यसको अध्ययन गरेर पनि एलर्जीको कारकतत्वहरु थाहा पाउन सकिन्छ । तर सिमित allergen हरुसँग परीक्षण गरिने यस्ता उपायहरु संधै उपयोगी नहुन सक्छन् ।


यदि एलर्जीका कारकतत्वको पहिचान हुन सकेमा र त्यसबाट कहिल्यै टाढा रहन सक्ने अवस्था नभएमा , एलर्जीबाट छुटकारा पाउन Immunization पनि गर्न सकिन्छ । यस्तो Immunotherapy मा शरीरलाई निश्चित मात्राको allergen सँग सम्पर्क गराइन्छ ताकि त्यस्ता allergen सँग शरीर अत्याधिक परिचित होउन र अनावश्यक प्रतिक्रिया व्यक्त नगरुन । यस्तो allergyshot उपचार केही महिनादेखि लिएर सम्पूर्ण जीवनभरि पनि जारी रहन सक्छ ।


वास्तवमा एलर्जी कहिल्यै निको नहुने रोग हो । यो पटक पटक देखा परिनै रहन्छ । औषधिको सेवनले एलर्जीबाट राहत भने अवश्य पु ¥ याउँछ । एलर्जीको समस्याबाट छुटकारा पाउन , औषधिको सेवन गर्नुको साटो , हामी केही घरेलु उपायहरु अपनाउन सक्छौ जसले शरीरलाई हानी नपुराइ एलर्जी निको तुल्याउन मद्दत गर्न सक्छ ।


नून पानीको सफा घोलले नाकको नली सफा गर्नु एक उत्तम उपाय हुन सक्छ । यसबाट नाकमा टाँसिएको धुलो र परागकणहरु पखालिन्छ र नाकभित्रको म्यूकस झिल्लीलाई पातलो गराई antibacterial को रुपमा काम गर्दछ । भिटामिन सी पाइने अमिलो प्रजातिका फलफूलहरु खाँदा पनि मौसमी एलर्जी सन्चो पार्न प्रभावकारी हुन्छ । अंगुरको बियाँमा quercetin नामक फ्लोवोनाइड रसायन अत्यधिक मात्रामा पाइन्छ जसको सेवनले शरीरमा histamine को उत्सर्जन कम गराई एलर्जी निको पार्न मद्दत पु¥याउँदछ ।


Allergen को सम्पर्कबाट एलर्जी हुने हुँदा त्यसबाट टाढाँ रहन आफू सचेत भई विभिन्न तौर तरिकाहरु अपनाउनु पर्दछ । तल उल्लेखित केही बानी र व्यवहारहरुले एलर्जीबाट टाढा रहन मद्दत पु¥याउनेछ ।


१. यदि धुलो तथा परागकणसँग एलर्जी छ भने कोठाको झयाल ढोकाहरु सकेसम्म बन्द गरी राख्नु र पंखाको प्रयोग नगर्ने । चलिरहेको पंखाले धुलो तथा परागकणहरुलाई कोठामा फिंजाइ रहेको हुन्छ ।


२. धूलो जम्ने कार्पेटको सट्टा चिल्लो कार्पेट अथवा काठको भूँइ प्रयोग गर्ने ।


३. भूँइ सफा राख्ने , कुचो लगाउने र पुछ्ने ।


४. कोठाभित्र धु्रमपान नगर्ने ।


५. धेरै लामो झुण्डिने पर्दा प्रयोग नगर्ने प्वाँखहरुबाट बनाइएका सिरानी, सिरकहरु प्रयोग नगर्ने ।


६. बच्चाहरुलाई कपडाबाट बनाइएका खेलौनाहरु खेल्न नदिने ।


७. लुगा , ओछ्यान खोल , तन्ना पर्दा आदि समय समयमा तातो पानीले धुने ।


८. बेन्जाइल बेन्जोएट वा ट्यानिक एसिडको झोल समय समयमा कोठामा स्प्रे गर्ने ।


९. घरभित्र र कोठाहरुमा धेरै विरुवाहरु गमलाहरु जम्मा नगर्ने ।


१०. घरपालुवा जनावरहरुलाई समय समयमा नुहाइ दिने ।


११. परागकणबाट एलर्जी हुने मानिसहरु बिहानको समयमा घरभित्रै बस्नु राम्रो हुन्छ किनकी यस समयमा बाहिरको वातावरणमा परागकणको मात्रा बढी हुन्छ ।


१२. रुख बिरुवाहरु बढी भएको ठाउँमा , बिहान र साँझाको समयमा घुम्न कम गर्ने ।


१३. घर बाहिर निस्कदा मास्कको प्रयोग गर्ने ।


१४. बाहिरबाट घर फर्केपछि नुहाउने या लुगा फेर्ने ।


१५. एलर्जी हुने खालका खानेकुरा नखाने ।


१६. एलर्जी गराउने औषधिहरु थाहा पाइ राख्ने र त्यस्ता औषधिहरु कहिल्यै प्रयोग नगर्ने ।


१७. कस्मेटिक सामानहरु जस्तै मोइस्चराइजर , सेम्पु , मेकअपका सामानहरु , सुंगन्धित स्प्रेहरु आदिमा पाइने रसायनहरुले पनि एलर्जी गराउने हुँदा त्यस्ता सौन्दर्य सामग्रीहरु होशियारी पूर्वक प्रयोग गर्नु पर्दछ ।


-डा. गण बहादुर बज्राचार्य ( विज्ञानलेखमालाबाट)

  • फेसबुकमा विज्ञान संसार

  • Followers

  • Total Pageviews

  • महत्तोपूर्ण सेतुहरु