हालसम्मको विज्ञान इतिहासले दर्शाए अनुसार पृथ्वीमा जीव उत्पत्तिको एउटै सिद्धान्त रही आएको छ । सो कुरालाई जीव रसायनशास्त्रको महत्वपूर्ण सिद्धान्तले पुष्टि गर्दछ । जस अनुसार पृथ्वीमा उत्पत्ति भएका प्रत्येक जीवको बनोट ६ वटा प्रमुख रसायन तत्वले बनेको हुन्छ, ती हुन: कार्बन, हाइड्रोजन, अक्सिजन, नाइट्रोजन, सल्फर र फोस्फोरस । यस सिद्धान्तलाई Golden Rule of Bio-chemistry पनि भनिन्छ । तर हालै पत्ता लागेको आर्सेनिक रसायन उपयोग गर्ने व्याक्टेरियाले जीव उत्पत्तिको फरक धारलाई इंगित गर्दै पृथ्वी बाहेकका अन्य खगोलीय पिण्डमा जीव उत्पत्तिको बारेमा गहिरो ध्यानाकर्षण गरेको छ ।
साईन्स जर्नलको डिसेम्बर २०१० अंकमा प्रकाशित एक अध्ययन अनुसार संयुक्त राज्य अमेरिकाको उत्तरी क्यालीफोर्निया स्थित मोनो तालमा आर्सेनिक रसायन प्रयोग गर्ने व्याक्टेरिया पत्ता लागेको हो । उक्त अध्ययनको प्रमुख अध्ययनकर्ता Felisa Wolfe-Simon र उनका सुपरिवेक्षकहरु प्राध्यापक Davies र प्राध्यापक Anbar का अनुसार उक्त व्याक्टेरियाले प्रचलित जीव रसायनशास्त्रको सिद्धान्त विपरीत आफ्नो संरचना तथा उपयोगमा आर्सेनिक प्रयोग गरेको पाइयो । यस अनुसन्धानका अनुसन्धानकर्ताका अनुसार यो अनुसन्धानको मुख्य उद्देश्य जीवमा साधारणतया विषालु मानिने आर्सेनिकले फोसफोरसको ठाउँ लिन सक्छ कि सक्दैन भन्ने थियो । यस उद्देश्यलाई अगाडि बढाउन अनुसन्धानकर्मीहरुले आर्सेनिकको मात्रा बढी भएको मोनो तालमा अध्ययन गरेको थिए । उक्त व्याक्टेरियाले आफ्नो बासस्थानमा पाइएको आर्सेनिकलाई नै प्रमुख स्रोतको रुपमा प्रयोग गरेको पाइयो ।
यस तथ्यलाई पुष्टि गर्न अध्ययनकर्ताले उक्त व्याक्टेरियालाई प्रयोगशालामा क्रमिक रुपमा बढी आर्सेनिकको मात्रा दिई हुर्काएका थिए । परिणाम आश्र्चयचकित तुल्याउने थियो । व्याक्टेरियाले आफ्नो विकास क्रममा आर्सेनिकलाई शक्तिको रुपमा मात्र उपयोग नगरी डि.एन.ए. मा नै फोसफोरसलाई विस्थापन गरी आर्सेनिकलाई समेटेको पाइएको थियो । यस अघि पनि कतिपय व्याक्टेरियाले आर्सेनिकलाई शक्तिको रुपमा प्रयोग गरेको पाइएको छ तर आफ्नो शरीरको संरचनामा नै उपयोग गरेको पाइएको भने यो पहिलो हो । यो अनुसन्धानको परिणाम जीवन सम्बन्धी हाम्रो परम्परागत वैज्ञानिक धारणा भन्दा पृथक नयाँ रहस्योद्घाटन तर्फ उन्मुख रहेको छ । यद्यपि, अनुसन्धानको तत्कालिन परिस्थिति सम्म जीवनको उत्पत्तिको नयाँ बाटो भने खुट्याउने नसक्ने प्राध्यापक म्बखष्भक भन्नुहुन्छ र उक्त परिणाम व्याक्टेरियाको क्रमिक विकासको अनुकुलन (Evolutionary adaption) हुन सक्ने प्राध्यापक Davies विश्वास गर्नुहुन्छ । तर, अनुसन्धान आफ्नो पहिलो वर्षमा नै रहेको र नयाँ तथ्य फेला परेको कुरा सर्वसम्मत भएकोले, जीवनको दोस्रो शुरुवात सम्बन्धी धारणालाई नकारी हाल्नु पर्ने भने नभएको कुरा उहाँ अगाडि भन्नुहुन्छ । यस्तै गरी, यो खोज पृथ्वी बाहेकका खगोलिय पिण्डमा जीवनको सम्भावनालाई पनि डोर्याएको छ । शनि ग्रहको उपग्रह अर्थात् टाइटनमा प्रयाप्त रुपमा आर्सेनिक रहेको र उक्त ग्रहको तापक्रम आर्सेनिकको स्थायित्वको लागि उपयुक्त रहेकोले टाइटनमा आर्सेनिक प्रयुक्त जीवनको सम्भावना सम्बन्धी जिज्ञासा बढाएको छ र अन्ततः यस अनुसन्धानले के जीवन सृष्टीको फरक धार हुन सक्छ भन्ने प्रश्नमा थुप्रै चासो र चर्चा बटुलेको छ ।
- रविन्द्र पाण्डेय (विज्ञान लेखमालाबाट)
के जीव सृष्टिको फरक धार हुन सक्छ ?
Posted by Om Bhandari
On 3:41 AM
Categories: जीवन
Subscribe to:
Post Comments (Atom)
0 प्रतिकृयाहरू:
Post a Comment
तपाइको महत्वपुर्ण जिज्ञासा, प्रतिक्रिया, सुझाव , सल्लाहा आदी केही छ भने यहाँ लेख्नुहोस ।