के हो न्युमोनिया ?

Posted by Om Bhandari On 6:33 AM
सामान्यतया न्युमोनिया भनेको फोक्सोमा आउने एक प्रकारको खराबी हो । जसमा
फोक्सोका कोषहरू सुन्निन्छन् अनि श्वासप्रश्वासमा बाधा पुग्दछ । विशेष
गरेर Streptococcus pneumoniae प्रजातिको ब्याक्टेरियाले न्युमोनिया
गराउँदछ । त्यस्तै केही भाइरसका प्रजातिहरूले कडा खालको न्युमोनिया
(Severe pneumonia) गराउँदछन् ।
एन्टिबायोटिकको व्यापक विकासका कारण न्युमोनियाको मृत्युको दर हृवात्तै
घटे पनि त्यसले खतरनाक अवस्थासम्म भने पुर्‍याउँदछ । ७० वर्ष नाघेका
व्यक्तिहरूमा अझै पनि न्युमोनिया मृत्युको प्रमुख कारणहरू मध्ये एक हो ।
न्युमोनियाका जीवाणु विश्वको कुनै क्षेत्र विशेषमा मात्र पाइन्छ भन्ने
छैन । एचआईभी /एड्सबाट सङ्क्रमित व्यक्तिहरूमा व्याक्टेरियाले गर्दा
लाग्ने न्युमोनिया चाँडै र धेरै लाग्दछ । त्यसैले केही अफ्रिकन महादेशका
देशहरू जहाँ HIV/AIDS व्याप्त छ , न्युमोनियाका बिरामीहरूको सङ्ख्या पनि
अत्यधिक रहेको छ । न्युमोनिया भएका बिरामीहरू एक दुई दिनमै सिकिस्त
हुन्छन् , गल्छन्, खोकी लागिरहने हुनाले थकित पनि हुन्छन् ।
व्याक्टेरिया र भाइरसका बाहेक अरू कारणले पनि न्युमोनिया हुन सक्दछ ।
कुनै अरू अर्को रोगको कारण अस्पताल भर्ना भएका बिरामीहरूमा पनि
न्युमोनिया देखिन सक्छ । अस्पताल क्षेत्रमा भएका जीवाणुका कारणले गर्दा
हुने भएकोले यसलाई रोक्न त्यत्ति सजिलो छैन । रोग प्रतिरोधात्मक क्षमता
कम भएका व्यक्तिहरू जस्तै , मधुमेहका बिरामी, HIV/AIDS सङ्क्रमितहरू अङ्ग
, प्रत्यारोपण गरिएका व्यक्तिहरू क्यान्सरका बिरामी र स्टेरोइड औषधि सेवन
गरिरहेका बिरामी आदिमा न्युमोनिया चाँडै लाग्दछ । त्यस्तै धुम्रमान र
मदिरा अत्यधिक सेवनले पनि न्युमोनिया हुन सक्दछ ।
मानव शरीरमा एक जोडी फोक्सो हुन्छ । एउटा दाहिने पट्टि र अर्को देब्रे
पट्टि । दाहिने फोक्सो देब्रेभन्दा ठूलो र अलि गह्रुँगो हुन्छ त्यस्तै
दाहिने फोक्सोमा छिर्ने श्वास नली छोटो , ठाडो र फराकिलो हुन्छ ।
फोक्सोका पनि खण्डहरू हुन्छन् । दाहिनेमा ३ वटा खण्ड हुन्छ भने देब्रेमा
२ वटा खण्ड हुन्छ । न्युमोनियाले गर्दा फोक्सोको कुनै खण्ड (Lobe) को
कुनै भागमा मात्र खराबी हुन सक्छ, कुनै एक खण्ड पूरै र एक वा बढी खण्ड
पनि खराब हुन सक्छ जसलाई (Lobar pneumonia) लोबार न्युमोनिया भनिन्छ ।
फोक्सोका कुनै खण्डको सँगसँगै श्वास नलीका भागहरू (Bronchi &
Bronchiolvs) पनि सङ्क्रमित भएमा ब्रोङ्को न्युमोनिया (Broncho
pneumonia) भनिन्छ ।
अझ विशेष गरेर अचेत बिरामी तथा बच्चाहरूमा पेटको खानेकुरा सर्किएर श्वास
नली हुँदै फोक्सोसम्म पुग्दछ । पेटको खाने कुरा सँगै ग्यास्ट्रिक एसिड
पनि फोक्सोमा पुग्ने हुँदा फोक्सोको कोषहरूमा क्षति पुग्न गई खतरनाक
किसिमको न्युमोनिया हुन सक्दछ । जसलाई एस्पिरेसन न्युमोनिया (Aspiration
pneunonia) भनिन्छ । त्यसैले वान्ता गर्दा सर्किन सक्ने, खानेकुरा खाँदा
बोलेमा सर्किन सक्ने भएकोले होशियार हुनु जरूरी छ ।
<B>लक्षणहरू</B>
बिरामीको उमेर, रोग प्रतिरोधात्मक क्षमता र न्युमोनिया गराउने जीवाणु
अनुसार लक्षणहरू फरक फरक हुन्छन् । व्याक्टेरियाले गर्ने न्युमोनियामध्ये
पनि Streptococcus प्रजाति अति प्रमुख जीवाणु हो र यसले पहिले नै भाइरल
इन्फेक्सन भइसकेको व्यक्तिलाई बढी सताउने गर्दछ । यसको इन्फेक्सन हुँदा
बिरामीको शरीरको तापक्रम छोटो समयमा नै हृवात्तै बढ्छ । कहिलेकाँही ३९
दशमलव ५ डिग्री सेन्टिग्रेडसम्म पुग्छ । छाती एकदम दुख्छ र लगातार सुख्खा
खोकी लाग्छ । केही घण्टामा नै बिरामी सिकस्त हुँदै जान्छ । केही दिनपछि
खकार -पहेलो आउन थाल्छ र पछि गएर खैरो रङको खकार आउन थाल्छ । सँगगँगै
बिरामीको शरीरभरि डाबर आउन थाल्छ । बिरामीले छिटो -छिटो र छोटो छोटो सास
फेर्न थाल्छ ।
फोक्सोका कोषहरू सुन्निएर हावा भरिने क्षेत्रहरू थुनिने हुनाले बिरामीले
सास फेर्दा फोक्सो सङ्क्रमित भएको पट्टी छाती फुल्दैन । यसरी फोक्सोले
पाउनुपर्ने जति अक्सिजन नपाएपछि शरीरमा पनि अक्सिजनको कमी हुन थाल्दछ र
त्यसलाई पूर्ति गर्न बिरामीले छोटो -छोटो र छिटो-छिटो सास लिनुपर्ने
हुन्छ ।
<B>उपचार</B>
बिरामीको अवस्थाअनुसार उपचार पद्धति फरक फरक हुन्छ । केहीलाई अस्पताल
भर्ना गर्नुपर्ने हुन्छ भने केहीलाई औषधि दिएर घर पठाउन सकिन्छ । अवस्था
सामान्य भएकाहरूलाई भने घरमै सामान्य हेरविचार गरेर राख्न सकिन्छ । सास
फेर्न कठिनाई भइरहेको छैन र बिरामीको खोकीका खैरो रङको खकार आइरहेको छ
भने बिरामीले मास्क लगाउन जरूरी छ । त्यस्तै मुख र छालाको सरसफाइमा पनि
ध्यान दिनुपर्छ । पर्याप्त पानी पिउनुपर्छ , ज्वरो र छातीको दुखाइका लागि
औषधि लिनुपर्दछ ।
समयमै उपचार नगरे बिरामीको स्वास्थ्य अत्यन्त बिग्रने हुँदा माथि उल्लेख
गरिएका लक्षणहरू देखिने वित्तिकै अस्पताल जानु बुद्धिमानी हुन्छ ।

सुशील रिजाल 'अभिनव' - काठमाडौँ युनिभर्सिटि मेडिकल स्कुल
[<A href="www.gorkhapatra.org.np.yubamanch>युवामञ्चबाट</A>]

0 प्रतिकृयाहरू:

Post a Comment

तपाइको महत्वपुर्ण जिज्ञासा, प्रतिक्रिया, सुझाव , सल्लाहा आदी केही छ भने यहाँ लेख्नुहोस ।

  • Followers

  • Total Pageviews

  • महत्तोपूर्ण सेतुहरु